काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका नवनिर्वाचित मेयरलाई बधाइ दिएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बधाई दिएका हुन् ।निर्वाचनमा यी दुईमात्रै वास्तविक स्वतन्त्र उम्मेदवार रहेको बताउँदै उनले उनीहरूका पछाडि कुनै पार्टीका नेता कार्यकर्ता पछि लागेर हिँडेको नदेखिएको उनले बताए ।
जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएको उदाहरण दिँदै उनले साहका पछाडि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू लागेको उल्लेख गरे ।‘‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा दुईटा नयाँ फूल फक्रिएको ठान्छु म चैँ ।’’ उनले भने ।
यद्यपि यसलाई राजनीतिक दललाई चुनौतीका रुपमा बुझ्न चाहीँ नहुने उनको तर्क छ ।तैपनि उनले यसलाई आफ्ना कमीकमजोरी सच्याउने अवसर र चुनौतीका रुपमा लिइनुपर्ने बताए ।त्यसपछि उनले दुबै मेयरलाई बधाई दिँदै आगामी दिनहरूमा जनताका भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने र राजनीतिक दलहरुसँग समदूरीको सम्बन्धसहित सबैको सहयोग जुटाउन सकून् भनी शुभकामना पनि दिए ।
Discussion about this post