भरतपुर । भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेजमा गठित युनाइटेड टेक क्लबको आयोजनामा भएको ३६ घन्टे ह्याकाथन बिटामा लुम्बिनी आइसिटी कलेजको टिम बाइटफोर्स विजयी भएको छ ।
प्रतियोगितामा फोब्र्स कलेजको टिम समिप्य दोस्रो भएको छ भने माउन्ट अन्नपूर्ण क्याम्पस पोखराको टिम म्याक इनोभेटिभ टिम घोषित भएको छ ।
प्रतियोतिगामा विजयी भएको बाइटफोर्स टिमले नगद ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस टिममा अरूण पाण्डे लौडारी, नवीन पौडेल र खेमकान्त पौडेल सहभागी थिए । दोस्रो भएको टिम समिप्यले नगद २० हजार रूपैयाँ पाएको छ ।
यसमा अंगद थापा, स्वयं लामा र विपेश कोइराला थिए । त्यस्तै, इनोभेटिभ टिम घोषित भएको टिम म्याकले नगद १० हजार रूपैयाँ पुरस्कार पाएको छ । यस टिममा रोशन केसी, भाष्कर पराजुली र आशिक चापागाईं सहभागी थिए ।
प्रतियोगितामा चितवन, रुपन्देही र कास्कीका गरी कुल १० वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा सहभागी सबै टिमका विद्यार्थीहरुलाई बस्न र खानको व्यवस्था गरिएको थियो । क्लबका अध्यक्ष प्रज्वल अधिकारीले ह्याकाथन बिटाले देशकै सामाजिक, आर्थिक तथा प्राविधिक विकासमा सहयोग गर्ने बताए । यो क्लब कलेजमा अध्ययनरत सबै विधाका विद्यार्थीहरुद्वारा गठित क्लब हो ।
यस क्लबले उच्च प्रविधिहरुको विकासमा विद्यार्थीका उच्च विचार तथा नवीनतम समाधान खोजमा कार्य गर्ने गरेको छ । ह्याकाथनले विद्यार्थीहरुको सीप तथा ज्ञानमा पनि अभिवृद्धि गराउन मद्दत पुग्ने विश्वास लिइएको छ । क्लबले यसअघि २०७९ सालमा ह्याकाथन अल्फाको कार्यक्रम आयोजना गरेको थियो ।
Discussion about this post