मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले गत सोमबार र मंगलबार दुई दिनसम्म सूचना निकालेर बिहीबारदेखि आइतबारसम्म बागमती, कोशी र मधेसमा भीषण वर्षा हुने भन्दै सचेत गराएको थियो । परिस्थिति महाशाखाले भनेजस्तै निम्तियो, तर विपत्मा परेकाको उद्धारमा सरकार भने काठमाडौं उपत्यकामै चुक्यो ।
ललितपुरको नख्खुमा चार घण्टासम्म टहराको छानामा फसेर उद्धारको याचना गरिरहेका चारजना अन्ततः नख्खु खोलाको बाढीमा खसे । यो दर्दनाक दृश्य देखिरहेका सर्वसाधारण चणिकलाल तामाङले ज्यानको बाजी लगाएर बाढीमा पौडिँदै दुईजनाको सकुशल उद्धार गरे, एकजनालाई स्थानीय टोल सुधार समितिका अध्यक्ष पूर्ण केसीले उद्धार गरे भने एक बालक अझै बेपत्ता छन् । हेलिकोप्टरबाट वा गोताखोर प्रयोग गरेर तत्कालै र सजिलै उद्धार गर्न सकिने अवस्था हुँदाहुँदै पनि निम्तिएको यो घटनाले विपत्मा परेकाप्रति सरकारको बेवास्ता झल्काइदियो ।
बिहीबार रातिदेखि परेको ‘रेकर्ड ब्रेक’ वर्षाले मुलकभर एक सय जनाको ज्यान गएको छ भने ७२ बेपत्ता भएका छन् । ३६ जना घाइते भएको गृह मन्त्रालयको रिपोर्ट छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा मात्रै भएकाले कुनै क्षति नभए पनि बागमती र कोसीमा बढी क्षति पुर्याएको छ । मधेश, लुम्बिनी र गण्डकीमा पनि सामान्य क्षति मात्रै भएको छ ।
गृहका अनुसार काठमाडौं उपत्यकासमेत पर्ने बागमतीमा सबैभन्दा बढी क्षति भएको छ । यहाँ ८५ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १२, ललितपुरमा २० र भक्तपुरमा पाँचजना गरी उपत्यकामा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यस्तै, ललितपुरमा १५ र काठमाडौंमा ६ जना बेपत्ता छन् भने काठमाडौंमा १० र ललितपुरमा ५ जना घाइते भएका छन् । उपत्यकाभित्रका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु खोला, धोबी खोलामा बढी आउँदा ठूलो मानवीय क्षति भयो । भीषण वर्षासँगै उपत्यकाका सबै नदी–खोलाआसपासका बस्ती डुबानमा परे । कतिपय ठाउँमा पहिरोले समेत क्षति पुर्याएको छ ।
बागमतीकै धादिङमा १६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । त्यस्तै, काभ्रेमा १४ जनाको ज्यान गएको छ भने २६ जना बेपत्ता र १८ घाइते भएका छन् । पनौती हुँदै बग्ने रोशी खोलामा आएको बाढीले उक्त क्षति पुर्याएको हो । बनेपा, तेमाल, बेथानचोक, पनौती, नमोबुद्धलगायत क्षेत्रमा पनि बाढीले असर पुर्याएको छ ।
बागमतीकै सिन्धुपाल्चोकमा चार, मकवानपुरमा १० र दोलखामा ४ जनाको मत्यु भएको छ भने सिन्धुपाल्चोकमा पाँच, दोलखा तीन र सिन्धुलीमा दुईजना बेपत्ता भएका छन् । मकवानपुरमा एक बेपत्ता छन् । भारी वर्षापछि मकवानपुरको पहाडी र नदीतटीय क्षेत्र, धादिङको गजुरी, नौबिसेलगायत ठाउँमा बाढीले विश्वंश मच्चाएको छ । सिन्धुलीको खुर्कोटमा सुकोशीको बाढी पसेर ४२ घर पुरिएका छन् ।
भीषण वर्षाका कारण कोशी प्रदेशमा पनि मानवीय क्षति भएको छ । गृहको तथ्यांकअनुसार पाँचथरमा सात, धनकुटामा दुई, झापामा दुई, सोलुखुम्बुमा दुई र सुनसरीमा एकजनाको मत्यु भएको छ । त्यस्तै, पाँचथरमा पाँच र झापामा चार बेपत्ता भएका छन् । यसपालिको वर्षाले मधेश र लुम्बिनी प्रदेशमा भने तुलनात्मक रूपमा कम क्षति भएको छ । मधेशको महोत्तरीमा पनि एक जनाको मृत्यु भएको छ भने लुम्बिनीको रुपन्देहीमा दुईजना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सकेसम्म क्षति न्यूनीकरणका लागि सरकार लागेको दाबी गरे । ‘तीन दिनदेखि लगातार वर्षा भयो । विशेषगरी बागमती प्रदेश र काठमाडौं उपत्यकाभित्रका नदीतटीय क्षेत्रमा भीषण बाढी आयो । बाढीका कारण ठूलो संख्यामा मानवीय क्षति हुन पुग्यो,’ उनले भने, ‘यद्यपि, उद्धार कार्यमा सुरक्षाकर्मी खटिएका छन् । सकेसम्म क्षति न्यूनीकरण गर्ने प्रयास जारी छ ।’
गृहका अनुसार लगातारको वर्षाका कारण मुलुकभरका साना–ठुला गरी ४२ राजमार्ग अवरुद्ध बनेका छन् ।

































Discussion about this post