Nirvik Khabar

जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने पाइलट मल्लको सपना अधुरो

Advertisements
Single Page Long - 2

नुवाकोटमा बुधवार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो।पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए।

‘रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो’, अरुणका भतिज रिम मल्लले भन्नुभयो, ‘काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ।’

मल्लको भगवतीमा रहेको पुख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो। पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ।

अरुणका एक जना दाजु र तीन जना दिदिबहिनी छन्। बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन्। उनीहरूको पनि विबाह भइसकेको छ। अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उनका साथी कर्णबहादुर भण्डारी (के.बी) ले बताए।

‘म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्‍याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो’, भण्डारीले भने, ‘रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ।’

करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आएका अरुणले म्याग्दीबाट वि.सं. २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाएका थिए। द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे।

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर गएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उनी अनुभवी र शाहसी पाइलट भएको स्मरण गरे।

मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाएका थिए।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस