चितवन, चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यद्यपि, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन । शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल हो । चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले प्रहरीको अनुसन्धान टोली र शव बाहन घटनास्थल गोलाघाट पठाइएको जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु प्रहरीको सम्पर्कमा छन् । उनीहरुसँग समन्वय गरेर दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचानको प्रकृया अघि बढाइने उनले जानकारी दिए ।
शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन् । चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी तटीय क्षेत्रमा इलाका क्षेत्रका सबै प्रहरीहरु खोजी तथा उद्धार कार्यमा बिहानैदेखि लागेका छन् ।
Discussion about this post