Skip to main content

Nirvik Khabar

भारत भ्रमणमा प्रधानमन्त्री शाहले गर्न खोजेका १२ क्रमभंग

Advertisements
Single Page Long - 2

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। यस क्रममा उनले विगतका प्रधानमन्त्रीले गरेका १२ अभ्यास तोड्दै छन्।

विगतका प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणबारे संसद्‌ अनि राष्ट्रपतिलाई भेटेरै जानकारी गराउने गरेका थिए। तर प्रधानमन्त्री शाहले त्यसो गरेनन्। विपक्षी मात्र होइन, आफ्नै पार्टी (रास्वपा) का सांसदले समेत सरकारका पछिल्ला क्रियाकलापबारे संसद्‌मा कुरा उठाउने सुइँको पाएपछि प्रधानमन्त्री शाह भारत भ्रमणअघि संसद् बैठक बोलाएनन्।

‘सरकारबाट भएका पछिल्ला केही गतिविधिले हाम्रै पार्टीका सांसद असन्तुष्ट हुनुहुन्छ’, रास्वपाका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘यदि भारत भ्रमणअघि संसद् चलेमा सुनकोसी-मरिन डाइभर्सनको ठेक्का रद्द गरेको, न्युजरुममै छिरेर प्रहरीले पत्रकार पक्राउ गरेको, सुशासनको नाममा इनम प्रकरणले पीएमकै सल्लाहकार जोडिएकोलगायत विषय संसद्‌मा उठ्ने र प्रधानमन्त्रीकै जवाफ माग्ने देखेर संसद् बैठक नबोलाएका होलान्।’

यसबिच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी एमाले र नेपाली कम्युनिस्ट पार्टीले तत्काल संसद् बैठक बोलाउन सभामुख डोलप्रसाद अर्याललाई ताकिता गरिरहेका थिए। तर त्यसको सुनुवाइ भएन।

बरु कात्तिक २९ गते रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, महामन्त्री विपिन आचार्यसहितको २० सदस्यीय टोली १० दिनका लागि चीन प्रस्थान गर्‍यो। रास्वपाका अर्का पदाधिकारी अब मंसिर दोस्रो वा तेस्रो साता मात्र संसद् खुल्ने बताउँछन्। ‘मंसिरको ९ गतेसम्म त खुल्ने कुरै भएन’, उनले नेपालखबरसँग भने, ‘त्यसो हुँदा १६/१७ गतेतिर संसद् बोलाउने देखिन्छ।’

प्रधानमन्त्री शाहले गर्दै १२ क्रमभंग

संसद्‌लाई जानकारी नगराउने, पूर्वप्रधानमन्त्रीहरूसँग सुझाव नलिने, भ्रमणका विषयमा विज्ञसँग छलफल नगर्नेसहित प्रधानमन्त्री शाहले विदेश भ्रमणका १२ अभ्यास तोडेका छन्।

१) भारत भ्रमणबारे संसद् बैठकमा जानकारी दिएनन्
प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण हुनुअघि पूर्वप्रधानमन्त्री, परराष्ट्र मामिलाका जानकार, विज्ञ लगायतसँग भेट्ने, छलफल गर्ने र सुझाव लिने नेपाली परम्परा छ। तर प्रधानमन्त्री शाहले यसमा क्रमभंग गरेका छन्।

‘संसद् बैठक नबोलाउने मात्र होइन, यसअघिका प्रधानमन्त्रीले गरिरहेको अभ्यास यसपटक केही पनि हुँदैन होला’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने।

२) पूर्वप्रधानमन्त्रीसँग छलफल गरेनन्
पूर्वप्रधानमन्त्रीसँग सामूहिक र एक्लाएक्लै भेटेर भ्रमणमा उठाउने विषयबारे जानकारी लिन पनि शाहले चाहेनन्। उनले कुनै पनि पूर्वप्रधानमन्त्रीलाई भेटेनन्, न त छलफलका लागि नै कतै बोलाए।

यसअघि विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरू छलफल गर्ने गरेका थिए। विदेशमा उठाउनुपर्ने विषयमा सुझाव माग्ने गरेका थिए।

३) पहिलो विदेश भ्रमण भारत भएन (अमेरिका गए) 
शाहको सचिवालयका अधिकारीहरूका अनुसार उनले पहिलो विदेश भ्रमण भारत गरेनन्। गत भदौ १० गते भोटेकोसीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङसहितका पाँच जिल्लालाई तहसनहस पार्‍यो।

त्यही ताका उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्युयोर्क गए। त्यो उनको राजकीय भ्रमण नभए पनि प्रधानमन्त्री बनेपछि गरेको पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्रालयका अनुसार भारत भ्रमण भने उनको राजकीय भ्रमण हो।

४) भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेनन्
प्रधानमन्त्री शाहले भारत भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गरेनन्। प्रधानमन्त्रीले विदेश जाँदा र फर्किँदा राष्ट्रप्रमुखलाई ‘ब्रिफिङ’ प्रचलन छ।

अघिल्ला सबै प्रधानमन्त्रीले भ्रमणमा निस्किनुअघि राष्ट्रपतिसँग भेट गर्थे। तर, शाहले त्यो अभ्यासलाई निरन्तरता दिएनन।

५) परराष्ट्रका जानकार र विज्ञसँग सल्लाह लिएनन्
भ्रमणका क्रममा समस्या नपरोस् भनेर प्रधानमन्त्रीले परराष्ट्र मामिलाका जानकारहरू, विज्ञलगायतसँग पनि छलफल गर्ने प्रचलनलाई शाहले अगाडि बढाएनन्। भारत भ्रमणमा जाँदा उठानुपर्ने विषयबारे उनले मसिनो गरी छलफल नै गरेनन्।

६) विमानस्थलमा बिदाइ सलामी नलिने (तर भारतमा गार्ड अफ अनर लिने) 
प्रधानमन्त्री विदेश भ्रमणमा निस्किँदा विमानस्थलमा नेपाली सेनाले सलामी दिने प्रचलन छ। तर, शाहले यसमा रुचि नदेखाएको कुरा सार्वजनिक भइसकेको छ। उनको सचिवालयका अनुसार यसपटक प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गर्दा सलामीको कुनै कार्यक्रम हुने छैन।

यद्यपि भारतले दिने सम्मान ‘गार्ड अफ अनर’मा भने प्रधानमन्त्री शाह सहभागी हुने कार्यक्रम छ। यस्तै प्रधानमन्त्रीको विदेश भ्रमणअघि राष्ट्रिय अनुसन्धान विभागको टोली एकहप्ता अगाडि नै सम्बन्धित मुलुकमा गएर सुरक्षा निगरानी गर्ने गरेको थियो।

तर प्रधानमन्त्री शाहको भ्रमणअघि यसका लागि नेपाली गुप्तचरलाई खासै सक्रिय पारिएन। ‘सम्माननीयज्यूको सचिवालयबाट चासो नदेखाएपछि हामी भारत गएनौँ, यसअघि सम्माननीयको भ्रमण हुनु केही दिनअगाडि नै सम्बन्धित मुलुक पुगेर रिपोर्टहरू पठाउने अभ्यास थियो, तर, यसपटक त्यो भएको छैन,’ ती अधिकारीले नेपालखबरसँग भने।

 ७) राजकीय भ्रमणमा श्रीमती लाने छैनन्
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्रीको भारत भ्रमणदलमा ३५ सदस्य छन्। तर त्यसमा प्रथम महिला अर्थात् प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेको नाम छैन।

त्यस हिसाबले उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गार्ड अफ अनरमा देखिने छैनन्। यसअघिका प्रधानमन्त्रीहरूले भने भारतको राजकीय भ्रमणमा श्रीमती साथमा लगेका थिए।

८) भ्रमण टोली अहिलेसम्मकै सानो
परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रधानमन्त्रीको भारत भ्रमण दल पनि यसपटक सानो देखिएको छ। उनको भ्रमण दलमा जम्मा ३४ सदस्य रहने जनाइएको छ।

विगतका प्रधानमन्त्रीहरूले भारतको राजकीय भ्रमणमा जाँदा कम्तीमा ४७ जना लाने गरेका थिए। त्यसमा मन्त्रीहरूको संख्या पनि धेरै हुने गरेको थियो। तर यसपटक प्रधानमन्त्री शाहले अर्थ र परराष्ट्रमन्त्री मात्र साथमा लाँदै छन्।

९) नेपाल-भारतको संयुक्त बिजनेस राउन्ड टेबलमा बस्ने छैनन्
यस्तै प्रधानमन्त्रीको उपस्थितिमा दुवै देशका शीर्ष व्यावसायिक नेतृत्वको जमघट (सीईओ राउन्ड टेबल) गरी नेपालमा वैदेशिक लगानी भित्र्याउन छलफल गर्ने गरिएको छ।

तर यसपटक उक्त कार्यक्रममा प्रधामन्त्री शाह सहभागी नहुने भएका छन्। उक्त छलफल अर्थमन्त्री स्वर्णिम वाग्लेले नेतृत्व गर्ने कार्यक्रम छ।

१०) यसअघिका सबै प्रधानमन्त्रीमध्ये छोटो समय भारत बस्दै
शाह भारत भ्रमणमा सबैभन्दा छोटो समय बिताउने मुलुकको पहिलो प्रधानमन्त्री हुँदै छन्। किनकि विगतका प्रधानमन्त्री ३ देखि ६ दिनसम्म राजकीय भ्रमण तय गरेर तीर्थाटनसमेत गर्ने गर्थे।

तर, प्रधानमन्त्री शाहको हकमा त्यस्ता कुनै कार्यक्रम नबनेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

११) हैदरावादमा बास नबसी होटलमा बस्ने
मंसिर ६ गते अपराह्न दिल्ली पुग्ने उनी भारतमा एकरात मात्र रहनेछन्। नेपालका प्रधानमन्त्री राजकीय भ्रमणमा भारतले हैदरावाद हाउसमा बासको प्रबन्ध गर्ने गरेको छ। तर यसपटक प्रधानमन्त्री शाह दिल्लीकै एक होटलमा बस्ने तालिका छ।

१२) प्रधानमन्त्री बनेको अहिलेसम्मकै लामो समयपछि मात्र राजकीय भ्रमणमा 
प्रधानमन्त्री बनेलगत्तै छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली अभ्यास पनि शाहले तोडेका छन्। २०८२ चैत १३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका उनी ८ महिनापछि मात्र राजकीय भ्रमण गर्दै छन्।

यसअघिका प्रधानमन्त्रीले पद सम्हालेको बढीमा ४ महिनाभित्रै भारत भ्रमण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस