सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले पत्रकार श्रेष्ठका तर्फबाट दर्ता बन्दीप्रत्यक्षीकरण रिटमा आज (शुक्रबार) सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतसमेत विपक्षीलाई बन्दी र उनका बरामद सामानसहित भदौ १ गते अदालत आउन भनेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित मिति २०८३।५।१ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक-एकप्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, आदेशमा भनिएको छ, ‘साथै उक्त मिति २०८३।५।१ गतेका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी निज बन्दीका विरुद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला।’
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। यसैको सुनुवाइ गर्दै सर्वोच्चले आज माथिको आदेश सुनाएको हो। सरस्वतीका अनुसार प्रहरीले दोस्रोपटक बिहीबार पनि आफ्नो घरमा खानतलासी गरेर सीसी क्यामराको डिभाइस स्टोरेज लगेको छ।यसअघि श्रेष्ठलाई पक्राउ गरेको दिन बुधबार बेलुका पनि प्रहरीले उनको घर र जनआस्थाको कार्यालयबाट कम्प्युटरलगायत महत्त्वपूर्ण उपकरण लगेको छ।


































Discussion about this post