आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार मनसुन ट्रफ नेपाल सदरमुकामभन्दा माथि र तराई क्षेत्र नजिक रहेकाले दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि बढ्ने भएको हो ।रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताए ।विभागले आजको चेतावनी नक्सामा कोशी प्रदेश, बागमती प्रदेशको पहाडी तथा हिमाली भूभाग, मधेश प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा सुन्तला रङ (सतर्कता) संकेत दिएको छ ।
त्यस्तै बागमतीको तराई क्षेत्र, गण्डकीको हिमाली तथा तराई क्षेत्र, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र र कर्णालीको पहाडी क्षेत्रमा मौसमसम्बन्धी जानकारी अद्यावधिक राख्न आग्रह गरिएको छ ।कर्णालीको हिमाली क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा भने तत्कालका लागि विशेष चेतावनी नरहेको विभागले जनाएको छ ।विभागका अनुसार भोलि पनि वर्षाको गतिविधि केही बढ्ने सम्भावना रहेको छ भने पर्सिबाट क्रमश: कम हुँदै जाने अनुमान गरिएको छ ।विभागका अनुसार पछिल्लो ६ घण्टामा लुम्बिनी प्रदेशका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भएको छ । मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्दिया जिल्लाको सानो चेपाङ वर्षा मापन केन्द्रमा ३६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । यस अवधिमा सबैभन्दा धेरै ताप्लेजुङको तापेथोक केन्द्रमा ८८ दशमलव २ मिलिमिटर र उदयपुरको गाईघाट केन्द्रमा ८० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत भएको छ ।
आज दिउँसो देशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भूभागका धेरै स्थानमा भने मध्यम वर्षा हुने अनुमान गरिएको छ ।कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि धेरै स्थानमा मध्यम वर्षाको सम्भावना औंल्याइएको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुुमान छ ।दिउँसो मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।मौसमविद ढकालका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने उनले बताए ।कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा भने थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

































Discussion about this post