Nirvik Khabar

वैदेशिक रोजगारी : पाँच वर्षमा १५ हजार ठगीका उजुरी

Advertisements
Single Page Long - 2

 काठमाडौं –  गतवर्ष हेटौंडा नवीन शर्मा युरोप जानेबारे सोच बनाइरहेकै बेला साथीमार्फत् लमजुङका दीपेन्द्र उप्रेतीसँग उनको भेट भयो । दीपेन्द्रले उनलाई आफूले महिना दिनमै पोल्याण्ड पठाउन सक्ने सुनाए ।दीपेन्द्रकै विश्वासमा नवीनले तीन पटक गरी ८ लाख रुपैयाँ बुझाए । तर पैसा बुझेपछि उनी तर्किन थाले । सुरुमा फोन उठाउन छोडेका राजेन्द्र पछि सम्पर्कविहीन नै भए । त्यसरी हराएका दीपेन्द्रको ६ महिनासम्म पनि पत्तो लागेन ।सपछि नवीन आफू ठगिएको निष्कर्षमा पुगे र गत साउनमा वैदेशिक रोजगार विभागमा पुगेर मुद्दा दर्ता गरे ।

दाङका हिमाल खनाल वैदेशिक रोजगारीका लागि कुनै राम्रो देश जान चाहन्थे । आफ्नै दाइ नाता पर्ने एकजनाले क्यानडा जान सुझाए । उनै दाइले ओखलढुंगाका रुद्रबहादुर खत्रीसँग भेटाइदिए । काठमाडौं बस्ने खत्रीले सजिलै वर्किङ भिसामा पुगाइदिने प्रलोभन देखाएका थिए । उनले भनेका थिए, ‘क्यानडा गए, अमेरिका छिर्न सकिन्छ ।’

क्यानडा हुँदै अमेरिका जान पाउने लोभले हिमालले अरु तीन जना साथी पनि जोडे । ५ जनाको समूह भएपछि खत्रीले उनीहरुसँग प्रतिव्यक्ति २०÷२० लाख रुपैयाँ मागे । उनीको समूहले भने प्रतिव्यक्ति १५ लाख रुपैयाँमात्रै बुझाए । उनीहरु सबैलाई फरकफरक खातामा पैसा हाल्न लगाइएको थियो ।

‘३ महिनाभित्र क्यानडा पठाउँछु’ भनेका खत्रीले भने ८ महिना बित्दा पनि पठाउन सकेनन् नै पछि त सम्पर्कविहीन नै भए । हिमालको समूहले खत्रीलाई खोज्दै जादा थाहा भयो, ठगिनेमा उनीहरुसँगै अर्काे ८ जनाको समूह पनि रहेछ । अहिले उनीहरु वैदेशिक रोजगार विभागमा गुनासो लिएर जाने तयारीमा छन् ।

पछिल्लो केही वर्षयता वैदेशिक रोजगारमा ठगिनेको संख्या वृद्धि घएको छ । कोभिड महामारीको समयमा उजुरी केही कमी आए पनि उक्त संख्या बर्सेनि बढेको विभागमा परेको तथ्यांकले देखाएको छ ।बितेको पाँच वर्षमा वैदेशिक रोजगारीमा ६ गुणाले मौलाएको सरकारी तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच वर्षमा १५ हजार ९ सय ४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा मात्रै कोभिड महामारीले ठगीका केही घटनामा कमी आएको विभागको भनाइ छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदी वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरु मौलाएको बताउँछन् । ‘ठगीका उजुरी हेर्दा हरेक वर्ष बढेको देखिन्छ । रोजगारीका सपना देखेर विदेश जान लागेका युवाहरु ठगीमा परिरहेका छन्’, उनले भने । उनका अनुसार अहिले म्यानपावर कम्पनी भन्दा पनि व्यक्तिबाट ठगिने घटनाहरु धेरै छन् ।

युरोपमा धेरै

पछिल्लो समय युवाहरुको आकर्षक श्रम गन्तव्य बनिरहेकाले युरोपेली मुलुक गएर ठगिने धेरै छन् । विभागमा परेका उजुरीहरु हेर्दा धेरैजसो ठगी युरोप पठाउने नाममा भइरहेका छन् ।युरोपका पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, क्रोएसिया, युके, ग्रिस लगायत देशमा पठाउने नाममा ठगी भइरहेको विभागले जनाएको छ । त्यसबाहेक क्यानडा, अमेरिका, बेलायत जस्ता मुलुकहरुमा पठाउने नाममा भइरहेको निर्देशक सुुवेदी बताउँछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थी वैदेशिक रोजगारीका नाममा भएका ठगीका आँकडाले आफूहरु समेत अचम्मित भएको बताउँछन् ।

उनका अनुसार अधिकांश ठगी व्यक्तिबाट भएका छन् । ‘पूर्वी युरोपका मुलुकहरुमा राम्रो कमाइ हुने लोभ देखाइन्छ’, उनले भने, ‘युवाहरु पनि सजिलै विश्वासमा परेर मागे जति रकम दिन तयार भएको देखिन्छ ।’श्रम आप्रवासन विज्ञ डा. सोमप्रसाद लुइँटेलले वैदेशिक रोजगारीमा युवाहरु ठगिनु चिन्ताको विषय भएको बताउँछन् । नयाँ गन्तव्यमा युवाहरुको आकर्षणलाई बुझेर युरोपमा नेपाली श्रमिक जान पाउने बाटो खुला गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने उनको मत छ ।

वैदेशिक रोजगार व्यवसायी राजेन्द्र भण्डारीले संस्थागत रुपमा भन्दा व्यक्तिगत रुपमा बढेको बताउँछन् । ‘पहिले पहिले म्यानपावर कम्पनीका ठगीका घटना हुन्थे’, उनले भने, ‘अहिले त्यो व्यक्तिगत रुपमा भइरहेको छ ।’ खास गरी सामाजिक सञ्जालमा मार्फत प्रलोभनमा परेर ठगिने धेरै भएको सुनाउँछन्, उनी ।

एक वर्षमै साढे ७ हजार मुद्दा

वैदेशिक रोजगार विभागमा बितेको एक वर्षमामात्र ७ हजार ठगीका उजुरी दर्ता भएका छन् । विभागको तथ्याङ्क अनुसार दर्ता भएका ठगीका उजुरीमध्ये तीन हजार ८३७ फस्र्योट भएका छन् । ती उजुरीमा ३० करोड ९३ लाख बराबरको क्षतिपूर्ति भराइएको छ ।ठगीका ७ हजार मुद्दा मध्ये प्रहरीमा ३ हजार ४०५ उजुरी दर्ता भएका छन् भने विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ वटा उजुरी दर्ता भएका छन् । यीमध्ये ५४१ उजुरी मेलमिलापबाट टुंग्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस