उपनिर्वाचन नजिकिएसँगै इलाम २ का उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका छन् । इलाम २ का प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।
इलाम २ को उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएकामा एकजनाले उम्मेदवारी फिर्ता गरेपछि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । यसअघि पनि उनी ०७९ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वपत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचानवादी बाहुल्य रहेको यस क्षेत्रमा जनता समाजवादी पार्टी, धरानका मेयर हर्कराज राईलगायतको समर्थनमा डकेन्द्रसिंह लिम्बू चुनावी मैदानमा छन् ।
कांग्रेसका उम्मेदवार डम्बर खड्काले निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये ३१ वटामा चुनावी अभियान सकिएको बताए । ‘विगतदेखि जनताको घरदैलोमै छु । म यहाँ नयाँ होइन । यसअघि तीन महिना जनताको घर–घरमा पुगेको छु । यसपटक तपाईंले गरेको दुःखको मूल्यांकन गर्छौँ भनेर जनताले भन्नुभएको छ,’ खड्काले भने, ‘वर्षौँदेखि बाटोघाटो, बिजुली, खानेपानी, कुलोको समस्या नै मतदाताले उठाइरहनुभएको छ । कतिपय योजना निर्वाचनमा भोट माग्ने माध्यम भएका छन् । आश्वासन मात्र जनताले पाएका छन् । यसमा जनताको गुनासो रहेको पाएँ ।’ पार्टीका उम्मेदवारलाई भोट माग्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ८ वैशाखमा इलाम आउने भएका छन् । थापा केही दिनअघि आएर फर्केका थिए । शर्मा कांग्रेसका चुनावी कमान्डर हुन् ।
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बू पनि चुनावी अभियान लिएर घरदैलो पुग्दै छन् । उनले गर्ने चुनावी सभामा धरानका मेयर हर्कराज राई, अभियन्ता युग पाठक, स्वागत नेपाल, डा. मित्र परियार, डा. केशवमान शाक्यलगायत पुगिरहेका छन् । उम्मेदवार लिम्बूले एकपटक सबै पालिकामा चुनावी अभियान गरिसकेको बताए । ‘एकपटक सबै पालिकामा पुगेका छौँ । तर, धेरै ठाउँमा भित्र–भित्र जान सकेका छैनौँ । अझै समय छ । यसबीचमा सबैतिर पुग्छौँ,’ उनले भने, ‘जनताबाट राम्रो प्रतिक्रिया आएको छ । स्वतन्त्र उम्मेदवारको लहर पनि आएको छ ।’
इलाम २ मा विगतमा एमालेको वर्चस्व देखिन्छ । ०४८ यताका सात संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमाले जितेको छ । ०५१ मा कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए । ०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए । ०५६ यता ०७९ सम्मको पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए ।
सुहाङले हारे इलामलाई घाटा : ओली
एमाले अध्यक्ष केपी ओलीले इलामको विकासका लागि सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् । बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुहाङले हारे इलामलाई घाटा हुने दाबी गरे । इलाम २ मा निरन्तर जित हासिल गर्दै आएका सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउनुपर्ने उनले बताए । ‘हामीले सुवास नेम्वाङको उद्देश्यलाई अघि बढाउने संकल्प र अठोट गरेका छौँ । सुहाङ आफ्ना पिताले अघि बढाएको इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर आएका हुन्,’ ओलीले भने, ‘यहाँबाट चुनाव हार्दा उसलाई घाटा पर्दैन । तर, इलामलाई घाटा पर्छ । यस्तै कर्मठ युवालाई जिताउनुपर्छ ।’ उनले माओवादी, विप्लव नेतृत्वको नेकपालगायतले एमालेले देश बनाउने संकल्प लिएकै कारण एमाले उम्मेदवारलाई समर्थन गरेको दाबी गरे ।































Discussion about this post