गैंडाकोट । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको वार्षिक परीक्षा २०८३ मा गैंडाकोट नमूना कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजबाट परीक्षामा सहभागीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।
कलेजकी छात्रा सुश्मा खरालले ७९.४४ प्रतिशत अंक प्राप्त गर्दै बीबीएस चौथो वर्षमा कलेजतर्फ सर्वाधिक अंक हासिल गरेकी छन्। त्यस्तै, कलेजका १९ जना विद्यार्थीले ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेका छन्। कलेजका प्रमुख गोपेन्द्रकेशरी न्यौपानेले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन र कलेजले उपलब्ध गराउँदै आएको शैक्षिक वातावरणका कारण आजको नतिजा आएको कुरा बताउनुभयो ।
बीबीएस कार्यक्रमका संयोजक लक्ष्मी कान्त शंखीले बीबीएस चौथो वर्षको नतिजामा आफ्नो कलेज जिल्लामै उत्कृष्ट स्थान प्राप्त गरेको दाबी गरेका छन्। विद्यार्थीको मेहनत, विषयगत शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा प्रभावकारी शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको उनले बताए। विषयगत नतिजामा पनि कलेजले उल्लेखनीय सफलता हासिल गरेको छ। लेक्चरर मुक्तिराम तिवारीको अध्यापन तथा मार्गदर्शनमा फाइनान्सतर्फका Corporate Finance तथा Financial Institutions and Markets विषयमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यस्तै, लेक्चरर लक्ष्मी कान्त शंखीको अध्यापन तथा मार्गदर्शनमा Entrepreneurship विषयमा पनि १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विषयगत रूपमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले शिक्षण/सिकाइ प्रणाली तथा विषयगत तयारीको प्रभावकारिता देखाएको कलेजको भनाइ छ।
उत्कृष्ट नतिजा प्राप्त भएपछि कलेजले सफल विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा, प्रभावकारी विषयगत मार्गदर्शन र उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध गराउने प्रतिबद्धता कलेजले जनाएको छ।
बीबीएस चौथो वर्षको परीक्षामा प्राप्त यस उपलब्धिले गैंडाकोट नमुना कलेजको शैक्षिक पहिचानलाई थप मजबुत बनाएको कलेजका प्रिन्सिपल गोपेन्द्रकेशरी न्यौपानेले बताउनुभयो ।

































Discussion about this post