चितवन । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो ।
पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास समेत महोत्सवले गर्ने पौडेलले बताए ।
चौबिस बर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारयण श्रेष्ठले बताए । पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताए । उहाँले यस यस वर्ष महोत्सवमा झण्डै ५ लाख दर्शकले अवलोकन गर्ने उनीहरूको व्यवस्थापनमा पर्यटन व्यवसायीहरू लागेको बताए । उनले भने “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।”
महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो बन्ने आयोजकको ठहर छ ।
रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको व्यवसायीहरूको ठहर छ ।
लेक साइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित हुने महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् यसैगरी पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू समावेश गरिएको रेवानले जनाएको छ । महोत्सवमा उठेको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रेवानको छ ।


































Discussion about this post