काठमाडौं । आज प्राय नेपालीको घरघरमा दही चिउरा खाने प्रचलन छ । खासमा रोपाइँ सकेको खुशीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिनका रुपमा पनि यसलाई लिइन्छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो ।
असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पुर्याएको संस्कृतिकर्मीको तर्क छ ।
कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।
वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।
दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पुर्याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ । त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो ।
चिउरा स्वास्थ्यवर्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन । चिउरा र दहीको समिश्रण स्वादिलो हुन्छ साथसाथै सुपाच्य पनि । दही चिउरा खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । दही चिउरा वर्षायामको खाजा हो ।
वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले दही–चिउरा उपयोगी मानिन्छ । छिटो, छरितो, मिठो र सुपाच्य खानेकुरा भएकाले दही चिउरा यतिबेला हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले असार पन्ध्रमा मात्र दही–चिउरा खानु, तामझाम गर्नुको अर्थ छैन । बरु, दही चिउरालाई वर्षायामको नियमित नास्ता बनाएमा त्यसले स्वास्थ्य लाभ मिल्नेछ । आफ्ना बालबच्चालाई जंकफूड होइन, दही चिउरामा बानी पारौं ।
पहिले पहिले सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन् ।
पछिल्लो समय गाउँद्धरमै पनि कमैका घरमा मात्र गाईभैंसी पाल्ने चलन छ । गाईभैंसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तैपनि बजारबाट किनेर भए पनि असार १५ मा दहीचिउरा खाने प्रचलनमा कमी आएको छैन । विवाह, व्रतबन्ध, सभासमारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो ।


































Discussion about this post