चितवन । महेश सन्यास आश्रम देवघाटधामका पिठाधिस १००८ स्वामी रमणानन्द गिरी महाराजले जारी कोटिहोम महायज्ञको दर्शन गरेका छन् । रमणानन्द गिरी महाराजले सोमबार महायज्ञको दर्शन गर्नुका साथै ५२ हजार ६०० रुपैयाँ दान गरे ।
उनले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ प्रदान गरे भने महायज्ञ आयोजकले दिएको दक्षिणा पनि महायज्ञलाई नै दान गरेका थिए । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा गत बैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भइरहेको छ ।
विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले क्युआरमार्फत पनि महायज्ञलाई दान गर्न थालेका छन् । काठमाडौँ घर भई जर्मन बस्दै आएका विशाल महर्जन (काश्यप)ले मंगबलार महायज्ञलाई २६ हजार ६३० रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम उनले महायज्ञको बैंक खातामा सोझै पठाएका हुन् ।
त्यस्तै, भरतपुर–२ आँपटारीस्थित आधुनिक दिदीबहिनी आमा समूहले महायज्ञलाई ११ हजार ७५० रुपैयाँ र भरतपुर–८ गौरीगञ्ज बस्ने शोभा ढकालले मंगलबार ११ हजार ११५ रुपैयाँ दान गरे । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।

































Discussion about this post