आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो ।सुरुमा बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चार विकेट हात पारेका छन् । २१ औँ ओभरमा दुई विकेट लिएका सन्दीपले २३ औँ ओभरको अन्तिम बलमा तेस्रो र २५ औँ ओभरको दोस्रो बलमा चौथो विकेट लिएका हुन् ।
नेपालका लागि सन्दीप लामिछानेले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको पहिलो विकेट हात पारे भने २१ औं ओभरको अन्तिम बलमा अर्का ओपनर फिनले म्याकक्रियाथको विकेट लिए । ६२ बलमा ७५ रन बनाएका मुन्सेलाई सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराए भने ६२ बलमा ३५ रन बनाएका फिनलेलाई एलबीडब्ल्यू धरापमा पारे ।नेपाललाई सफलता दिलाउन आक्रामक देखिएका सन्दीपले व्यक्तिगत तेस्रो विकेटका रुपमा २३ ओभरको अन्तिम बलमा म्याकमुलेनलाई आउट गरे। नौ बलको सामना गरेका उनी सात रन बनाएर आउट भएका हुन्
चौथो विकेटका रुपमा सन्दीपले २५ ओभरको दोस्रो बलमा स्कटल्यान्डका रिची बेरिंगटनलाई एलबीडब्ल्यू धरापमा पारे । रिची १२ बलमा पाँच रन बनाएर आउट भएका हुन् । अहिले स्कटल्यान्ड २६ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ ।२० औं ओभरसम्म विकेट विहीन बनेको नेपालका लागि पाँच ओभरमा सन्दीपले महत्त्वपूर्ण सफलता दिलाएका हुन् ।

































Discussion about this post