लामो समयको रस्साकस्सीपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गत महिना नयाँ सदस्यसचिव पाइसकेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रविन्द्र चन्द परिषद्को सदस्यसचिव नियुक्त भएका हुन्। उनी दोस्रो पटकको प्रयासमा सदस्य सचिव बन्न सफल भए।आफ्नै प्रदेशको खेलकुद नेतृत्व गर्ने पाउनु अवसर त हो नै, सँगै चुनौती पनि बढी नै हुन्छ। राजनीतिक प्रभावबाट पूर्ण रुपमा मुक्त नभएको प्रदेश खेलकुदमा उनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।
२०७९ सालमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमै दशौँ राष्ट्रिय खेलकुद २०८१ पुसमा आयोजना गर्ने घोषणा भएको थियो। तर, त्यो मितिमा मात्र होइन विभिन्न कारण देखाउँदै सरकारले पटक पटक राष्ट्रिय खेलकुद सारिरह्यो। अहिले नयाँ सरकार आएपछि पनि दशौँ राष्ट्रिय खेलकुद प्राथमिकतामा परेको छैन। चालू आर्थिक वर्षमा हुने सम्भावना पनि टरिसकेको छ।कर्णाली प्रदेशका तत्कालीन सदस्यचिव विश्वामित्र सञ्ज्यालको कार्यकाल सकिएको एक वर्षभन्दा पनि लामो समयपछि चन्दले प्रतिस्पर्धामार्फत जिम्मेवारी पाएका हुन्। तर, दशौँ राष्ट्रिय खेलकुद कहिले हुने भन्ने सरकारले निर्णय गर्ने भएकाले त्यसमा उनलाई दबाब छैन। तर उनलाई कर्णाली खेलकुदलाई आउने ४ वर्ष कसरी अघि बढाउने भन्ने चुनौती छ।
दशौँ राष्ट्रिय खेलकुदको आयोजक प्रदेश हुँदा त्यसका केही जिम्मेवारी त होलान्। तर दशौँ हुँदा प्रदेशको टोली कसरी तयार पार्ने भन्ने उनका लागि बढी महत्त्वको विषय हुन सक्छ। प्रदेशमा खेलाडी उत्पादन आफैँमा चुनौतीपूर्ण छ। त्योभन्दा पनि चुनौती तयार भइसकेका खेलाडीलाई प्रदेश मै टिकाइराख्ने चुनौती बढी हुन्छ।
कारण, प्रदेशको टोलीबाट खेल्दा न त नियमित प्रशिक्षण र नत नियमित आम्दानी नै हुन्छ। त्यसैले राम्रो खेलाडीको लक्ष्य ३ विभागीय टोली (सेना, पुलिस र एपिएफ) मा जाने हुन्छ। त्यहाँ नियमित प्रशिक्षण र पारिश्रमिकको व्यवस्था हुन्छ। विभागमा जान नचाहनेले केही वर्ष खेल जीवनमा सक्रिय भए पनि जीविकोपार्जनका लागि वैकल्पिक बाटो सोच्नुपर्ने हुन्छ।
राष्ट्रियस्तरका प्रतियोगितामा विभागीय टोलीले पदक जित्दा प्रदेशका खेलाडीको योगदान ओझेलमा पर्ने अवस्था पनि चन्द नजिकबाट आफूले देखेका बताउँछन्।
नेपालखबरसँग कुरा गर्दै सदस्यसचिव चन्दले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका विषयमा छलफल भइरहेको बताए। उनका अनुसार अहिले मुख्य प्राथमिकता निर्माणाधीन सुर्खेतको प्रदेशिक रंगशालालाई प्रदेश सरकारको मातहतमा ल्याउने काम छ।‘यो आर्थिक वर्षभित्र रंगशालालाई प्रदेश सरकारको मातहतमा ल्याउने तयारीमा छौँ। त्यसका लागि प्राविधिक टोलीसँग छलफल भइरहेको छ’, उनले योजना सुनाए।
रंगशाला निर्माणको काम ५ प्रतिशत मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले निर्माण कम्पनीसँग बाँकी कामको विस्तृत विवरण मागिएको र आर्थिक व्यवस्थापन मिलाएर काम सम्पन्न गर्ने तयारी भइरहेको बताए।
दशौँ राष्ट्रिय खेलकुदको विषयमा संघीय राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतासँग पनि आफूले निरन्तर छलफलमा रहेको चन्दले बताए। उनले कर्णाली प्रदेश प्रतियोगिता आयोजना गर्न तयार रहेको उल्लेख गरे।
‘मिति तोकियो भने केही सहज हुन्छ। तर अहिले हाम्रो मुख्य प्राथमिकता रंगशाला निर्माण पूरा गर्नु हो। त्यसपछि अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुद आयोजना गर्ने गरी तयारी गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र दशौँ खेलकुद हुनेमा म विश्वस्त छु’, उनले थपे।
ठूला प्रतियोगिता आयोजना गर्न कर्णाली सक्षम छ भन्ने सन्देश दिनका लागि पनि व्यवस्थित ढंगले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्नु परिषद्का लागि महत्वपूर्ण चुनौती बनेको छ। आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितामा कर्णालीले दुई अंकको स्वर्ण पदकसहितको सफलता हासिल गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशको सहभागिता र सफलता सामान्यतया न्यून रहने गरेको छ। सहभागी भएका प्रतियोगितामा पनि विभागीय टोली र अन्य प्रदेशको तुलनामा कर्णाली कमजोर छ।यद्यपि कठिन परिस्थितिका बाबजुद कर्णालीले उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको छ। कर्णालीको माटोमा हुर्किएका खेलाडीहरूले आफ्नो प्रतिभा देखाउँदै जाँदा विभागीय टोलीको ध्यान तान्ने गरेका छन्।
नियमित प्रशिक्षण, आकर्षक तलब–सुविधा, जीवनयापनको सहजता र बढी अवसरका कारण प्रदेशका खेलाडीहरू प्रायः विभागीय टोली रोज्ने गर्छन्।
यही कारणले प्रदेशले उत्पादन गरेका प्रतिभाशाली खेलाडीलाई जोगाउन र प्रदेशमै राख्न सदस्यसचिव चन्दले योजना बनाइरहेको बताएका छन्।‘प्रदेशका खेलाडी विभागमा जाने समस्या तत्काल रोक्न त सकिँदैन, तर यस विषयमा धेरै काम गर्नुपर्नेछ’, उनले भने।उनका अनुसार खेलाडीलाई प्रदेशमै टिकाइराख्न नियमित प्रशिक्षणको व्यवस्था, प्राविधिक प्रशिक्षकको सहभागिता र पदक विजेता खेलाडीलाई पुरस्कार तथा प्रोत्साहन दिनु आवश्यक छ।र नियमित प्रशिक्षण दिन सकियो भने कर्णालीका खेलाडीहरू सहभागी मात्र नभई पदक जितेर फर्कने वातावरण बनाउन सकिन्छ।’
































Discussion about this post