Nirvik Khabar

कोटिहोम महायज्ञमा ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम गर्न सकिने

Advertisements
Single Page Long - 2

भरतपुर । भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रमहरु पनि भइरहेका छन् । महायज्ञमा चार वटा ब्रतबन्ध भइसकेको छ भने चौरासी पूजा लगायतका धार्मिक कार्यक्रम पनि गर्न सकिने आयोजकले बताएको छ ।

महायज्ञ संयोजक प्रेमनिधि भारद्वाजका अनुसार ब्रतबन्धका लागि दुई वटा दर राखिएको छ । बटुक वस्त्रसहित आवश्यक सामाग्रीहरु (भोजन बाहेक) आयोजकले उपलब्ध गराउनुपरेमा ११ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । आफैले व्यवस्था गर्ने हो भने चाँहि सात हजार रुपैयाँ तिरे पुग्छ ।

त्यसैगरी, चौरासी पूजाका लागि ११ हजार, रुद्रभिसेकको लागि १५ हजार १००, ग्रहशान्तिका लागि सात हजार, सत्यनारायण पुजा पाठ गर्न ५१ सय र चण्डीपाठ गर्न सात हजार रुपैयाँ तिर्नुपर्छ । कालसर्प, गण्डमुल शान्ति, मांगलिक शान्ति, श्रापित पितृदोष, संकटाजप शनिग्रह, र एकाहा भागवत पाठको लागि ५१ सय रुपैयाँको दर तोकिएको छ ।

महायज्ञमा शिव गोरक्ष कोटिहोममा नियमित हवन, गायत्री मन्त्रद्धारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । महायज्ञको अवलोकन गर्न सोमबार संविधान सभा सदस्य गिता वाग्ले वागीश्वरी पुगेकी थिइन् । महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा कोटिहोम महायज्ञ भएको हो । महायज्ञको प्रमुख संरक्षक योगी श्रीषनाथ र संरक्षक योगी बलभद्रनाथ छन् । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।

योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्पअनुसार महायज्ञ गरिएको हो । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पूरा हुन पाएको थिएन । महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस