Skip to main content

Nirvik Khabar

गण्डकी कोटिहोममा भोलि सामूहिक व्रतबन्ध कार्यक्रम

Advertisements
Single Page Long - 2

पोखरा-तिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा भोलि बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुँदैछ। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्नेछन्। सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदैछ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण हुने जानकारी गराएका छन्।
गण्डकी कोटिहोममा हाल श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ भव्य रूपमा चलिरहेको छ। महायज्ञको अवसरमा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, कोटिहोम, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिनेछ। कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरिनेछ। संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवऋण, ऋषिऋण, र पितृऋण—को जानकारी दिइनेछ। यस अवसरमा वेदपाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत आयोजना हुनेछ।
आयोजक मानव सेवा फाउण्डेशनका अनुसार दर्जनौं बालकहरूका लागि व्रतबन्धको दर्ता भइसकेको छ र थप दर्ता खुल्ला छ। धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेका छन्। कतिपय अभिभावकहरू काठमाडौँ, चितवन, बुटवल लगायतका ठाउँबाट गण्डकी कोटिहोम आइपुगेका छन्।
कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।
यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ ।

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ । सो कोटीहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस