Skip to main content

Nirvik Khabar

ऐना झ्यालको पुतलीः लाखौं चेलीको आँसु मुछिएको कथा

Advertisements
Single Page Long - 2

ऐना झ्यालको पुतली ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना झ्यालको पुतली जस्तो।

ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भुल पार्‍यो उज्यालोले अँध्यारोले हैन
पुतलीलाई लघारेर पुतली नै उड्यो
कठै आफ्नो पिरतीका सुतली नै चुँड्यो
यो रमिता हेर्नुभन्दा ऐना झ्यालमा बसी
बिलाई जानु जाती बरु बाहिर आफू खुसी

ऐना झ्यालको पुतली सिनेमा हेरेर फर्केपछि अलि उदास जस्तो भएको मेरो मन थुमथुम्याउन अमृत गुरुङले गाएको र कविवर माधवप्रसाद घिमिरेले लेखेको माथिको गीत मैले राति तीन-चार पटक सुनें। यो गीत कता कता ऐना झ्यालको पुतलीकी नायिकाकै लागि लेखिए जस्तो लाग्ने, कस्तो अचम्मको संयोग!

यो सिनेमाका लेखक, पटकथाकार र निर्देशक सुजित बिडारी आफैं हुन्। उनको बाल्यकाल र किशोरावस्थाका कथाहरू, उनका भोगाइहरू, उनको घरगाउँ, आफन्त र साथीहरूका जीवनका घटनालाई एक-एक गर्दै मिहिनेतका साथ यो सिनेमामा उनले उनेका र बुनेका छन्।

हरेक मान्छेका आआफ्ना कथा हुन्छन्। कतिका कथा-व्यथा सबैका झैं हुन्छन्। साझा हुन्छन्। ती पीडाले समान रूपले धेरैलाई दुखाउँछ‚ रुवाउँछ र झकझक्याउँछ। प्रत्येक परिवारका पनि आफ्ना सुख-दुःखका कथा हुन्छन्। हर्ष, विस्मात, बिछोडका लामा भोगाइहरू हुन्छन्। आकांक्षा र आशाहरू हुन्छन्। ती परिवारका सदस्यहरू आफैंमा एक स्वतन्त्र व्यक्ति हुन् र व्यक्तिपिच्छे आआफ्ना सपनाहरू हुन्छन्।

ऐना झ्यालको पुतली एक ग्रामीण परिवारको कथा हो र सबभन्दा बढी परिवारकी छोरीको टुटेको सपनाको कथा हो। सुजितले सिनेमा सम्बन्धी अध्ययन नेपालमै गरे। अस्कर इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज) का विद्यार्थी हुन् उनी। विज्ञापन‚ फिल्म बनाउन सिके, ग्राफिक डिजाइन सिके र अन्ततः फिल्म अध्ययन गरे। लक्ष्मीनाथ शर्मा, मनोजबाबु पन्त र विनोद पौडेलबाट सिकेका पाठहरूले आफूलाई प्रभाव पारेको उनी स्विकार्छन्।

 

आफ्नो बाल्यकाल आमा र दिदीसँग नजिक रहेर बिताएका सुजितले यो सिनेमामा नेपालका धेरै आमा र दिदीहरूको पीडा, आँसु र कथालाई मार्मिक ढंगले उतारेका छन्। कथा सामान्य छ। एउटी पढ्न मरिहत्ते गर्ने केटीको कथा हो। तर, कथाले छुँदै जान्छ। हेर्दै जाँदा थाहा लाग्छ, यो त लाखौं छोरीचेलीहरूको कथा हो। यो कथाका पात्रहरू हरेक गाउँमा भेटिन्छन्। भाइको पात्रमा युवकहरूले कतै न कतै आफ्नो बाल्यकाल भेट्छन्।

एक सानो गाउँले परिवारको कथा हो यो सिनेमा। तर‚ यो नेपालको कथा हो, नेपालीको कथा हो। अहिले हामीले हेर्न खोजेको पनि नेपाल र नेपालीकै कथा हो। त्यसैले यो सिनेमाले हाम्रो कथा भन्छ। हाम्रो आँसु, दुःख, घटना, हाँसो र स्वादको भाषा बोल्छ। यो ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना झ्यालको पुतली जस्तो।

ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन भनेर गीत लेखिरहँदा कवि माधवप्रसाद घिमिरेलाई के कुराले प्रभाव पार्‍यो होला, थाहा छैन। तर, उनको गीतको उक्त पंक्ति सिनेमाकी प्रमुख पात्रको जीवनमा भने ठ्याक्कै मिल्छ। पुतली जस्तै उड्ने उसको चाहना जताबाट पनि छेकिन्छ।

यो सिनेमाको सबभन्दा मलाई मन परेको पक्ष भनेको कथा भन्ने तरीका हो। सलल नदी जस्तै बग्ने कथा स्वाभाविक लयमा बगेको छ। सिनेमामा देखाइने प्रत्येक घटनाले दर्शकलाई आफूसँग तान्दै लैजान्छ। कथाभित्र पात्रहरूले दर्शकलाई डोर्‍याउँदै लैजाँदा न सिनेमाले दर्शकलाई बाँध्न सक्ने हो। सामान्य कथालाई असामान्य रूपले मोहक बनाइदिएका छन्, निर्देशकले।

कसिलो, गतिमान र स्वाभाविक छ पटकथा। पटकथा गतिलो भएन भने निर्देशकले जति नै मिहिनेत गरे पनि सिनेमाले दर्शकलाई आफूसँगै तान्न सक्दैन। सुजितले कथा, पटकथा र निर्देशन तीनवटै भूमिकामा आफ्नो प्रतिभा देखाएका छन् यो सिनेमामा।

आमाको भूमिकामा अभिनय गर्ने सिरु विष्ट बाहेक अधिकांश कलाकारहरूको यो पहिलो सिनेमा हो। त्यसमध्ये कतिले अभिनय यात्रालाई भोलि निरन्तरता देलान् भन्न सकिन्न। तर, पात्रहरू अनुसार कलाकार छान्ने काम भने ध्यानपूर्वक गरिएको छ र तिनले अभिनय पनि राम्रो गरेका छन्।

 

सिनेमा निर्माण एउटा सामूहिक कार्य हो। त्यहाँ संगीत, गीत, कथा, पटकथा, कलाका संयोजन लगायत अनेकौं मानवीय र प्राविधिक कामहरू हुन्छन्। ती सबै कामको नेतृत्व निर्देशकले गर्छ। यसको सबै पक्षमा जुन सौन्दर्य र सन्तुलन छ, सायद त्यसकै कारणले होला, यो सिनेमाले देशबाहिर पनि प्रशंसा पाएको।

दक्षिण कोरियाको वुशान फिल्म फेस्टिभलको सन् २०२० मा भएको पच्चीसौं संस्करणमा प्रदर्शनका लागि यो सिनेमा छानिएको थियो। वुशान फिल्म फेस्टिभल सिनेमा प्रेमीहरूबीच विश्वव्यापी रूपमा चर्चित छ र त्यहाँ प्रदर्शन गरिने सिनेमालाई दर्शकहरूले गम्भीर रूपमा लिन्छन्।

चेक गणतन्त्रमा आयोजित ६१औं जिन फिल्म फेस्टिभलमा पनि यो फिल्म आधिकारिक रूपमा छानिएको थियो। त्यस्तै‚ स्वीट्जरल्यान्डको ३४औं फायरवर्ग इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि यो फिल्म प्रदर्शित भयो। अस्ट्रेलियामा आयोजित एशिया प्यासिफिक अवार्ड कम्पिटिशनका लागि पनि यो फिल्म छानिएको थियो। बाङ्लादेशको ढाकामा भएको २०औं ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा भने ऐना झ्यालको पुतलीले सर्वोत्तम निर्देशक (बेस्ट डिरेक्टर)को अवार्ड नै जित्यो।

वुशान फिल्म फेस्टिभलमा यो फिल्म हेरिसकेपछि एउटी महिला दर्शकले आँसु चुहाउँदै आयोजकहरू समक्ष पुगेर भनिन्, “यो त मेरै कथा हो। कसरी मेरै कथामा फिल्म बन्यो। यति राम्रो फिल्म देखाएकोमा तपाईंहरूलाई धन्यवाद!”

एशियाली महिलाहरूका कतिपय जीवनशैली, व्यथा र कथाहरू उस्तै उस्तै छन्। मानवीय दुःख र सुखका कथाहरू सार्वभौम हुन्छन्। आज पनि नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र एशियाका महिलाहरूले भोगिरहेका पीडाहरू समान छन्। शिक्षाका लागि आज अफगानिस्तानमा महिलाहरूले गरिरहेको संघर्ष पीडादायी मात्र हैन, प्रेरणादायी पनि छ।

 

एकातिर, समृद्धिको विशाल पहाड र अर्कातिर दरिद्रताको अत्यन्त गहिरो खाडल; यो हाम्रो समाजको वास्तविकता हो। हाम्रो समाजको मात्र होइन, विश्वकै तीतो वास्तविकता हो। यो तीतो यथार्थले समाजमा उत्पन्न संकटहरूबारे विश्वभरि विचारोत्तेजक बहस चलिरहेको छ। एकातिर गाँस, बास, कपास र शिक्षा-स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्न नसक्दा लाखौं बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। युवाहरू कुण्ठित एवं बेरोजगार बनिरहेका छन्। वृद्धवृद्धाहरू उपचार र पोषिलो खाना नपाएर मरिरहेका छन्।

वर्गीय विषमताले भरिएको नेपाली समाजको ग्रामीण जीवन, त्यो जीवनका अन्तरद्वन्द्व, आकांक्षा, आशा र निराशाका कथाहरू भन्छ ऐना झ्यालको पुतलीले। कथा भन्छ, भन्दै जान्छ र तपाईंलाई संवेदनशील बनाउँदै जान्छ सिनेमाले। दर्शकले फिल्मका पात्रहरूमा आफूलाई रूपान्तरित गर्दै जान्छन् र तिनका दुःख र वहलाई आत्मसात् गर्दै जान्छन्। यो सिनेमाभित्र कतै न कतै दर्शकले आफूलाई पाउँछ। आफ्नो कथा, आफ्ना घटना र आफ्ना बदमासी सम्झिन्छ र लाज तथा आनन्दको अनुभूति गर्छ। दर्शकलाई उद्वेलित र संवेदनशील बनाएर सोच्न बाध्य बनाउने सिनेमाले नै दर्शकलाई सचेत, चिन्तनशील एवं सुसंस्कृत बनाउन सक्छ। परिवार सबै सँगै बसेर हेर्नुपर्ने सिनेमा हो यो।

एउटी महिला दर्शकले व्यक्त गरेको भावुक प्रतिक्रियापछि वुशान फिल्म फेस्टिभलका आयोजकले सुजितलाई नेटमा कुराकानी गर्दै उक्त घटना बताएर भनेका थिए रे, “तिमीले राम्रो फिल्म फेस्टिभलमा पठाएकोमा धन्यवाद!”

सुजितलाई हाम्रो पनि धन्यवाद! उनको यो सिनेमाले उनीप्रति नेपाली सिने क्षेत्रको अपेक्षा बढ्नेछ। त्यो अपेक्षा उनले पूरा गर्न सकून्।
https://www.himalkhabar.com/news/132080

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस