Skip to main content

Nirvik Khabar

रेबिज नियन्त्रण गर्न खोप अभियान

Advertisements
Single Page Long - 2

काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए । उनका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ भने पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । उनका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको हो । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताए । रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ । उनले रेबिज फैलावटका विषयमा सुक्ष्म ढङ्गले अध्ययन गरिने बताए । उनका अनुसार रेबिज प्रभावित क्षेत्रमा हप्ताअघि नै एक सय ६० डोज खोप उपलब्ध गराइएको थियो ।

उनका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ’, कार्यालय प्रमुख डा सेढाईँले भने ।

महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अङ्गह गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो । ‘हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन छुटेका स्थानीयवासीलाई पे्ररित गरिरहेका छौँ’, सेढाईँले भने, स्थानीयवासीका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ ।

काभ्रेपमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता काभे्रपका छ जनाको मृत्यु भएको छ । दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दुध, मासु खाँदा रेबिज सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस