Nirvik Khabar

बैंकको लगानी जनताकै डिपोजिट, ऋण तिर्दिन भन्ने छुट छैन – ज्ञवाली

Advertisements
Single Page Long - 2

काठमाडौं । नबिल बैंक लिमिटेडका डेपुटी सीईओ मनोज ज्ञवालीले बैंकहरुमा भएको लगानी जनताकै डिपोडिट भएकाले बैंकबाट लिएको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् । पछिल्लो समय मेडिकल ब्यापारी दुर्गा प्रसाईले बैंकको ब्याजदर तिर्नु हुन्न भन्दै चर्चामा आउनका लागि केही युवाको जमातलाई लिएर देश दौडाहामा हिँडिरहेको प्रसङ्ग जोड्दै सीईओ ज्ञवालीले जनताले दुःख गरेर भविष्यका लागि साँचेर राखेको पैसामा खेलबाड गर्न खोज्नु दुःखद भएको बताए ।

उनले यस्तो अराजकता रोकिनु पर्नेमा जोड दिएका छन् । उनले बैंक नै सबैभन्दा सुरक्षित र विश्वासिलो आधार भएको दाबी गर्दै यसको विश्वासमाथि खेलबाड नगर्न पनि उनले आग्रह गरेका छन् ।

बैंकको विश्वास

ज्ञवालीले बैंकप्रतिको विश्वास भनेको उसको पारदर्शीता नै भएको बताए । उनले नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक रहेको र उसले हर क्षण नियमन गरिरहँदा पनि बैंकलाई कसैले गलत भन्छ भने त्यो मानसिकता बदल्नु पर्ने बताए ।

उनले भने, ‘बैंक विश्वास हो । हामीले बैंक, वित्तीय संस्थाले नाफा कमायो नाफा कमायो भन्छन् । मुख्य कुरा त के हो भने वित्तीय संस्थाले नाफा नकमाउने हो भने बैंक डुब्दैछ भने कसले पैसा राख्छ ?’

उनले पछिल्लो समय सहकारीमा समस्या देखिएको स्मरण गराउँदै भने, ‘सहकारीमा समस्या पर्दा बित्तिकै तपाईले सहकारीमा पैसा राख्न छाड्नु भयो । तपाईलाई १४ प्रतिशतमा ब्याजदर दिन्छु भन्दा पनि सहकारीमा पैसा राख्नुहुन्न ।’

सीईओ ज्ञवालीले बैंकले पैसामात्र कमाएको नभइ विश्वास कमाएको स्पष्ट पार्दै भने, ‘पैसा कमाउनु भनेको त विश्वास कमाउनु हो । डुब्ने संस्था भयो भने त कसैले पनि पैसा जम्मा गर्दैन नि ।’

वित्तीय संस्था नहुँदा पहिले मानिसहरुले कसरी पैसा उठाउँथे र कतिसम्म ब्याज तिर्नुपर्दथ्यो भन्ने दृष्टान्त कहिल्यै बिर्सन नहुने स्मरण गराउँदै उनले भने, ‘अस्ति वित्तीय संस्थाले पैसा दिन नसक्दाखेरी कति प्रतिशतमा मान्छेले बजारबाट पैसा उठायो भन्ने कुरा ब्यापारीलाई सोध्नुस् । आज १५ प्रतिशतमा माइक्रोफाइनान्सले बढी लियो भनेर चिच्याइराख्नेलाई के सोधिदिनु पर्यो भने त्यो माइक्रोफाइनान्स त्यो ठाउँमा पुग्नुभन्दा पहिला त्यहाँ मान्छेले ऋण लिनुपर्यो भने कति प्रतिशतमा कसरी लिन्थ्यो ?’

विगतलाई सम्झदै बैंक तथा वित्तीय संस्थाको योगदानलाई बिर्सन नहुनेतर्फ जोड दिँदै उनले भने, ‘पहिला मान्छेले ऋण लिँदा ३६ देखि ६० प्रतिशतमा लिएको हैन ? विदेश जाने बेलामा, भारत जाँदा नेपाली पैसा लिएर एक वर्षमा भारु पैसा फिर्ता गरेको हैन ? त्यो सबै बिर्सिदिने ?’

बैंक डुबे जनता डुब्छन्  
बैंक तथा वित्तीय संस्था बाहेक कहिँ पनि सस्तो ब्याजमा ऋण नपाइने उल्लेख गर्दै सीईओ ज्ञवालीले भने, ‘तपाईले बैंक तथा वित्तीय संस्था बाहेक सस्तो कहाँ पाउनु हुन्छ ? रेगुलेटेड छ । नियमन छ । कानून छ । बैंकलाई नियमन गरेको छ । सरकारले हेर्छ । पारदर्शी छ ।’

उनले जहाँ पनि बैंकले कमाएको मात्र देखेको गुनासो गर्नेहरुलाई भन्छन्, ‘विश्वास दिलाउने र पारदर्शी बैंकको सकारात्मक पक्ष नदेखेर बैंकले कमायो, बैंकले कमायो भन्नु गलत हो । धेरै आँखा लगाउनु राम्रो हैन । बैंक डुब्यो भने सर्वसाधारणको पैसा डुब्ने हो ।’

उनले नेपालमा यही तरिकाले अगाडि बढ्ने हो भने बैंक डुब्न बेर नलाग्नेतर्फ सचेत गराउँदै भने, ‘अमेरिकामा सन् २००८–९ मा १४० वटा बैंक तथा वित्तीय संस्था डुबेका छन् । धेरै आत्तिनु पर्दैन । धेरैले आँखा लगाउनु पर्दैन । यस्तै अवस्था रह्यो भने ६ महिनादेखि वर्ष दिनमा धेरै वटा बैंकहरु ढल्छन् । अनि पैसा कसको डुब्छ भनेदेखि यी ८५ लाख आसपास मान्छेहरुको खातामा भएको ५५–५६ खर्ब रुपैयाँ ।’

अमेरिकी केन्द्रीय बैंकजस्तो नेपाल राष्ट्र बैंक नभएकोतर्फ ध्यानाकर्षण गर्दै सीईओ ज्ञवालीले भने, ‘अमेरिका थियो र कतिपय संस्थाहरुलाई बेलआउट गर्नबाट रोक्यो । सिटिजन्स जस्तो बैंकलाई केन्द्रीय बैंकले सहयोग गरेर बचाएको हो । नेपालमा त त्यो सम्भव छैन । सरकारको यस्तो हालत छ कि तलब खुवाउन त ट्रेजरी बिल जारी गर्नुपर्ने हालत छ ।’

वित्तीय संस्थाहरु सबै चोखा छन् त ?
वित्तीय संस्थाहरु सबै अवश्य चोखा छैनन् बदमासी पनि भइरहेको छ । त्यसको नियमन राष्ट्र बैंकले गर्नैपर्छ । ठगी पनि भइरहेको छ । तर त्यो भन्दैमा सबैलाई एउटै घानमा हाल्नु भने पक्कै दुर्भाग्य हो ।

यसलाई सीईओ ज्ञवाली पनि स्वीकार्छन् । उनी भन्छन्, ‘बैंकहरु चोखा छन् भन्दिन । सबै बैंकको ठेक्का पनि लिन्न । जहाँ गल्ती छ त्यसलाई उठान गर्नुपर्यो । गल्ती गर्नेले सच्याउनु पर्यो ।’

उनले अगाडि भने, ‘राष्ट्र बैंक छ नियमन गर्ने उसले गर्नुपर्छ । तर अब ऋण लिएको पैसा तिर्दिन भनेर भीड जम्मा गरेर कालोमोसो लगाउने रे । यो त गलत भयो । हामीले पब्लिकको पैसा चलाएर बसेका छौं आजसम्म कसैको एक रुपैयाँ दायाँबायाँ गरिएको छैन । अनुसन्धान गरे हुन्छ । बैंकका मान्छेलाई कालोमोसो दल्छु भन्नु त दुर्भाग्य हो ।’

उनले देश अराजकतातर्फ उन्मुख भएको भन्दै हरेक मान्छेले जे बोले पनि हुने भएको भन्दै दुखेसो पोखे ।

के हो पछिल्लो फण्डा ?
पछिल्लो समय नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । व्यापार घाटामा केही सुधार आएको छ । चालू आर्थिक वर्षको असोजयता अर्थतन्त्रमा सुधार हुँदै आएको सरकारको दाबी छ । असोजमा शोधनान्तर स्थिति (बीओपी) १२ अर्ब ४३ करोड रहेकोमा पुस मसान्तसम्म आइपुग्दा ९७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत पुस मसान्तमा बीओपी २४१ अर्ब २३ करोड रुपैयाँ घाटामा थियो ।

यसरी अर्थतन्त्रमा सुधारको आशा पलाएको बेला वित्तीय संस्थाको कर्जा मिनाहा गराउने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूह सर्वसाधारणलाई भड्काउँदै हिँड्न थालेको छ ।

प्रसाईको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईसमेत कालोमोसो दल्ने, आफूले लिएको ऋण नतिर्ने लगायतका कुरा झिकी ‘महाअभियान’ को नाममा अराजक गतिविधि गरिरहेका छन् । उनले पूर्वदेखि पश्चिमसम्म कार्यक्रम गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरू चलायमान हुन नसके अर्थतन्त्र ठप्प हुने यथार्थबाट पन्छेर प्रसाईले युवाहरुलाई भड्काइरहेका छन् । बैंकको ऋण नतिर्न उक्साइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थासँग आवद्ध भएकाहरु आफूले लिएको ऋण नतिर्ने हो भने आफूबाट कसैलाई दिएको ऋणको पनि आशा मारे बराबर भयो नि भन्दै तर्क गरिरहेका छन् ।

हुन पनि बैंकको ऋण नतिर्ने हो कतिसम्म अराजकता होला । बैंकहरुले अरुलाई ऋण दिने सर्वसाधारणले नै बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको पैसाबाटै हो । यदि बैंकले त्यो रकम फिर्ता पाएन भने उसले सर्वसाधारणलाई पैसा कसरी फिर्ता दिन सक्छ ?

तर केही मानिस बटुलेर व्यवसायी प्रसाईले सार्वजनिक रुपमा बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । उनले २० लाख तलको कर्जा मिनाहा गराउने भन्दै चर्चामा आउन ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्न कुनै कसरत छोडेका छैनन् ।

त्यतिमात्र हैन उनले सँगसँगै राजसंस्था फर्काउने भन्दै राप्रपाका युवाहरुलाई यो गलत कदमको अभियानमा होमेका छन् । तर काठमाडौंसम्म आइपुग्दा भने राप्रपाले बैठक बसेरै यस्ता गतिविधिमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

को हुन् प्रसाई ? 
उनी विवादित मेडिकल व्यवसायी हुन् । उनी आफू शक्तिमा आएर बैंक नतिर्न खोजिरहेको बुझ्न सकिन्छ ।

छिटो पैसा कसरी कमाउन सकिन्छ भन्दै राजनीतिक ‘स्टन्ट’ गर्न रुचाउने प्रसाई कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए ।

उनले शुरुआती चरणमा प्रचण्डको साथ लिन खोजे । माओवादीकै खाँटी कार्यकर्ता भए । २०७४ सालको एमाले र माओवादीको चुनावी एकतापछि बनेको एमाले–माओवादीको सरकारमा उनले निकै नै खेल्ने ठाउँ पाए ।

मेडिकल माफियाका रुपमा आफूलाई उभ्याउँदै उनले मन्त्रीहरुको प्रयोग गरे । उनकै भड्काउमा लागेर तत्कालीन मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल डिग्री लिनका लागि नेपाली महिला विद्यार्थीले गलत काम गर्नुपर्ने भनी अभिव्यक्ति दिएकै कारण मन्त्री पदबाट हात धुनुपर्यो ।

तिनै प्रसाई प्रचण्डलाई छाडेर पछि केपी ओलीतिर आए । केपी ओलीको साथ लागेकै कारण उनी एमाले केन्द्रीय सदस्यसमेत भए । तर लागेको बानी कहीँ नजाने भनेझैं उनले एमाले रहँदा पनि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानमा बोलाएर राप्रपाबाट साथ लिन खोजे ।

त्यसपछि एमालेले पनि उनलाई केन्द्रीय सदस्यबाट हटाएको छ । अहिले आएर राजसंस्था फर्काउने बहाना बनाएर राप्रपाका युवालाई साथमा लिएर हिँडेका थिए ।

तर उनको नियत बुझेसँगै राप्रपाका नेताहरुले पनि साथ दिन छाडे । काठमाडौंमा हालै भएको कार्यक्रममा राप्रपाले कार्यकर्तालाई उनको कार्यक्रममा नजान र गए पनि उनको उश्रृंखल गतिविधिको पछि नलाग्न निर्देशन दिएपछि प्रसाईले राजसंस्था बचाउने हो भने पूर्वराजा पनि आफूसँगै हिँड्नु पर्ने भनेर विवादित बोली बोले ।

त्यसयता राप्रपा र राजसंस्था चाहनेहरुले पनि प्रसाईको साथ छाडेका छन् । तर प्रसाईले बैंकरहरुलाई जहाँ देख्यो त्यहीँ कालोमोसो दल्ने उद्घोष गरेर त्रास उत्पन्न गराएका छन् ।

तिनै दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ कर्जा लिएका छन् । प्रसाईको बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिले जनता बैंक (ग्लोबल आईएमई बैंक) बाट एक अर्ब रुपैयाँ ऋण लिएको छ ।

त्यस्तै उनले नबिल बैंकबाट ६७ करोड, एनसीसी (कुमारी बैंक) बाट १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड, मेगा (नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकबाट ६५ करोड ऋण लिएका छन् ।

त्यस बाहेक उनको कर्जा लुम्बिनी विकास बैंकलाई १५ करोड ३० लाख, गुडविल फाइनान्सलाई ११ करोड तिर्नुपर्ने छ ।

यिनै प्रसाई अहिले बैंकको ऋण नतिर्नका लागि युवालाई भड्काइ रहेका छन् । यसले मुलुकमा अराजकता निम्त्याउने भन्दै नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीले  ‘मास सेन्टिमेन्ट’ को लागि यस्तो कार्य गर्नु गलत भएको बताउँछन् ।

उनले बैंकको पैसा तिर्दिन भन्नु र बैंक लुट्नु एउटै भएकोसमेत बताएका छन् । उनको स्पष्ट भनाइ छ कि जसले आफ्नो अभिष्ट पूरा गर्नको लागि वित्तीय संस्थाविरुद्ध उत्रन्छ दीर्घकालमा उसैलाई हानि हुन्छ ।
के छ कानूनी व्यवस्था ? 
नेपालको कानूनले ऋण नतिर्ने छुट कसैलाई पनि दिएको छैन । कानूनी संरचनाभित्र बसेर लिएको ऋण जसरी पनि तिर्नैपर्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, त्यस अन्तर्गतको नेपाल राष्ट्र बैंक एकीकृत निर्देशन, बैंकिङ कसुर ऐनले कसैलाई पनि ऋण नतिर्ने सुविधा दिएको छैन ।

ऋण नतिर्नेलाई भने कडा कारबाही हुन्छ । उक्त व्यक्तिको सम्पत्ति लिलाम हुने, आर्थिक जरिवाना हुने र जेल सजाय भोग्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५६ मा कर्जा रकमको सदुपयोग सम्बन्धी अनुगमन र ५७ मा कर्जा असुली सम्बन्धी व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस