Nirvik Khabar

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

received_2129529764081875

जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताउनुभयो । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।”

दसँैमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उहाँले बताउनुभयो । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिगिँ्रदै गएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्”, केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उहाँको भनाइ छ ।

इच्छाकामना –२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाउनुभयो । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उहाँले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौँ ।”

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताउनुभयो । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन् ।” चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस