फिफा विश्वकप २०२६ मा आधुनिक फुटबलका महान् स्ट्राइकरबीचको ‘गोल्डेन बुट’ दौड इतिहासकै रोचक हुने देखिएको छ ।समूह चरणका सुरुवाती दुई खेल सकिँदा अर्जेन्टिनाका लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन् भने फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड ४–४ गोलसहित उनलाई पछ्याइरहेका छन् ।विश्वकप इतिहासमा दुई खेलपछि नै तीन जना खेलाडीले ४ वा सोभन्दा बढी गोल गरेको यो सन् १९५४ यताकै पहिलो पटक हो । सोमबार भएको ‘सुपरस्टार डे’ मा मेसी, एम्बाप्पे र हालान्ड तीनै जनाले आ-आफ्नो खेलमा दुई-दुई गोल गरेपछि यो दौड थप रोमाञ्चक बनेको हो ।
मंगलबार घानाविरुद्ध खेल्न लागेका इङ्गल्याण्डका ह्यारी केन (जसले पहिलो खेलमा दुई गोल गरेका थिए) सँग पनि यो सूचीमा अघि बढ्ने मौका छ ।मेसीको सर्वकालीन रेकर्ड: ३८ वर्षीय मेसीले अस्ट्रियाविरुद्ध २ गोल गर्दै विश्वकप इतिहासमै सर्वाधिक १८ गोल गर्ने सर्वकालीन कीर्तिमान बनाएका छन् । यस संस्करणमा अर्जेन्टिनाले गरेका सबै ५ गोल मेसीकै नाममा छन् ।एम्बाप्पे र हालान्डको दबाब: आफ्नो १०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका एम्बाप्पेले इराकविरुद्ध २ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन् ।
यस्तै, २५ वर्षीय हालान्डले पनि सेनेगलविरुद्ध २ गोल गर्दै नर्वेलाई अन्तिम ३२ मा पुर्याए । हालान्डले नर्वेका लागि ५२ खेलमा ५९ गोल गरिसकेका छन् ।यस पटकको ४८ टोली सम्मिलित नयाँ विश्वकप ढाँचा र थपिएको एक अतिरिक्त नकआउट चरणका कारण फरवार्डलाई गोल गर्ने अवसर बढेको छ । सन् १९५८ मा फ्रान्सका जस्त फोन्टेनले राखेको एकै विश्वकपमा १३ गोलको कीर्तिमान यसपालि तोडिन सक्ने अनुमान गरिएको छ ।


































Discussion about this post