Nirvik Khabar

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री सुरु गरेको छ।

सुनधाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्रीमा ल्याएको हो।बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो। १० ग्राम सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। बैङ्कसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ। सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ। बैङ्क सञ्चालक समितिको गत १९ जेठमा बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस