भरतपुर । टिकटक र युट्युबमा भाइरल सविता भण्डारी (धिताल) मृत्यु घटना मुद्दा दर्ता भएको १ वर्ष ८ महिनामा फैसला भएको छ । माघ पहिलो हप्ता यस मुद्दामा फैसला भएको हो । चितवन अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो ।
सविताको मृत्युलाई यौन हिंसा गरी मर्न बाध्य बनाएको भनी आत्महत्या दुरूत्साहनअन्तर्गत चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन अवस्थामा आरोपित ३ जना थिए । आरोपितहरु धरौटीमा रिहा भएका थिए । उनीहरुविरूद्ध ५ वर्षसम्मको कैद सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरे पनि अन्ततः आरोपितहरुले अभियोगबाट सफाइ पाएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए । ससुरा रमेश धितालले यौन हिंसा गरेका कारण मर्न बाध्य भएको आरोप लागेको थियो । आरोपित धितालको गत वर्ष मृत्यु भयो ।
अघिल्लो दिन विवाह वर्षगाँठ मनाएका सविता र योगेन्द्रको घरमा भोलिपल्ट दुःखको घटना भएको थियो । ०७८ वैशाख ४ गते दिनको ५ बजेतिर सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।काठमाडौँ कोटेश्वरकी सविता (२८ वर्ष) र चितवन भरतपुर महानगर–१९, बखानचोक घर भएका योगेन्द्र धिताल (३९ वर्ष)बीच ०७१ साल वैशाख ३ गते विवाह भएको थियो । विवाहपछि श्रीमान्श्रीमती नै विदेश गएका थिए । उनीहरु केही वर्षअघि फर्किएका थिए । उनीहरुको एक सन्तान (छोरा) छन् ।
आत्महत्या दुरूत्साहनसम्बन्धी घटनामा सविताको श्रीमान्, ससुरा र अमाजू मुछिएका छन् । उनीहरुमध्ये श्रीमान् योगेन्द्र धितालविरूद्ध सविताको माइतीतर्फका बुबा रामचन्द्र भण्डारीले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए ।सविता र ससुरा रमेशबारेको भिडियो सार्वजनिक भएको थियो । अदालतमा बयान दिँदा तिनै ससुराले भनेका थिए, ‘आँखामा औषधि हालेको हो, यौन हिंसा होइन ।’
सविताको मृत्युमा आफूहरुको कुनै भूमिका नरहेको तीनैजनाको बयान छ । उनीहरुका अनुसार सविताले नियमित डिप्रेसनको औषधि खान्थिन् र चितवन मेडिकल कलेजमा उनको नियमित स्वास्थ्य जाँचसमेत हुँदै आएको थियो ।
यौन हिंसाको आरोप लागेका ससुरा रमेशले बयानमा छोरीजस्तै गरी ममता दिइराखेको उल्लेख छ ।
सुरूमा फरार भनिएकी अमाजू भावना धिताल जेठ १९ गते चितवन अदालतमा उपस्थित भइन् । बयानको क्रममा भावनाले आफूमाथिको आरोप झूटो भएको बताइन् ।
०७८ जेठ १४ गते भएको आदेशअनुसार श्रीमान् र ससुरालाई जनही १ लाख धरौटी माग भएको थियो । उनीहरु धरौटी राखेर तारेखमा छुटेका थिए । अमाजूलाई भने जेठ १९ गते २५ हजार धरौटी माग भएको र उनी पनि धरौटी राखेर छुटेको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।
ससुरा रमेशकुमार धिताल शिक्षक पेसाबाट निवृत्त रहेको र स्वास्थ्य कमजोर भई उठबस गर्नका लागि पनि अरुको सहारा चाहिने अवस्थामा रहेको उनको आफन्तजनको भनाइ छ ।मुलुकी अपराधसंहिता, २०७४ को दफा १८५ को उपदफा १ बमोजिमको कसुर अपराध गरेको भनी अभियोगपत्रमा उल्लेख थियो । Chitwan Post
Discussion about this post