पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र खरेलको निधन भएको छ। ८० वर्षको उमेरमा गएराति बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको उनका छोरा महेश खरेलले जानकारी दिए। महेश पाँचखाल नगरपालिकाका प्रमुखसमेत हुन्।
दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए।२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल २०२५/०२६ सालतिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज)मा नेपाल विद्यार्थी संघको इकाइ कमिटीका सचिव भएर राजनीतिमा क्रियाशील भएका थिए।
उनले २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। पटकपटक गरी उनले करिब ९ वर्ष जेल जीवन बिताएका थिए।बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री पनि भएका थिए।खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने बताइएको छ। उनको अन्तिम संस्कार आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने पारिवारजनले बताएका छन्।
































Discussion about this post