काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसामु १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली महिला क्रिकेट टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो।पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन। नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो।ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट भइन्।अर्की अोपरन विन्दु रावल ४४ रनमा आउट भइन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो।
१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन्।पूजा महतो १२ रन बनाउँदा क्याच आउट भइन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्। कविता कुवँर २ रनमा रनआउट हुन पुगिन्।सीता रानामगर शून्य रनमा नै आउट भइन्। रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा आउट भए। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिइन्। चनिदा पुथ्थावोङ, सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान एक/एक विकेट लिए। थाइल्यान्डले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।































Discussion about this post