कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका एक सिङ्गे गैँडाको आक्रमणबाट पछिल्लो एक महिना यता नवलपुरको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोती र देवचुलीमा ४ जना घाइते भएका छ्न् ।सामुदायिक वनमा घाँस दाउरा गर्न जाने, सामुदायिक वनको बाटो भएर हिँड्ने तथा आफ्नै खेतबारीमा काम गर्ने क्रममा स्थानीयहरुलाई गैँडाले आक्रमण गरेर घाइते बनाउने क्रम बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा गैँडा र मानवबीच द्वन्द्व बढ्दै जान लागेको हो ।
गत मंसिर १९ गते जिल्लाको देवचुली-१० र कावासोती-१ को सीमानमा रहेको लोकाहा खोला नजिकै बाटो हिँड्ने क्रममा गैँडाको आक्रमणमा परेर कावासोती-६ कि ५० वर्षीया भुलमाया विक र चितवनको भुवन बस्ती बस्ने निवासी ५० वर्षीय छमबहादुर सारु घाइते भए ।गएको पुस ४ गते कावासोती-१ लोकाहाको स्यालीमा आफ्नै घर पछाडिको बारीमा काम गरिरहेका ४० वर्षीय पुष्प परियार र पुस १९ गते बिहीबार कावासोती-८ को मनकामना सामुदायिक वनमा दाउरा खोज्न गएका गएका कावासोती-८ का पतिराम महतो घाइते भएका छ्न् ।
निकुञ्जबाट निस्किएका गैँडाको आक्रमणबाट स्थानीयहरु घाइते हुने क्रम नघटेपछि यस क्षेत्रका स्थानीयहरुमा त्रासको अवस्था सृजना भएको छ । बिहानीको समयमा कक्षा ११–१२ र स्नातक तह पढ्न जाने छोराछोरी घर न आउँदासम्म मन डराउने गरेको कावासोती-१ का सागर श्रेष्ठले बताए । “बिहानैको झिसमिसेमा छोराछोरी पढ्न जान्छ्न्, गैँडा घर पछाडि नै आउने गर्छ, छोराछोरी घर न आउँदासम्म मन डराउँछ”, श्रेष्ठले भने ।
पूजापाठका लागि सालको पात टिप्न जानेदेखि लिएर देवचुलीको महाराजा सामुदायिक वनको बाटो भएर आवतजावत गर्ने स्थानीय, वनका हेरालु, दैनिक घाँस दाउरा गर्ने स्थानीयहरु गैँडाको आक्रमणमा पर्न लागेपछि दिउँसो पनि डराउनु पर्ने अवस्था रहेको देवचुली-१० का दिपक न्यौपाने बताउँछ्न् ।”आलु, गहुँ खेती नष्ट मात्रै होइन, मान्छेको जीउधनकै सुरक्षा गर्ने अवस्था छैन, विद्यालय जाने, वनको बाटो भएर हिँड्ने मात्रै होइन आफ्नै खेतबारीमा दिउँसै काम गर्न डराउने अवस्था छ”, न्यौपानेले भने ।
निकुञ्जबाट आएको गैँडाको कारण स्थानीयले पाएको सास्तीको विषयमा पटक पटक डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको प्रशासनसँग कुरा गर्दा पनि सुनुवाइ नभएको देवचुली-१० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती मगरले गुनासो गरे ।”जनता त्रसित छ्न्, डिभिजन वन, निकुञ्ज सबैसँग कुरा गरेको छु, सुनुवाइ हुँदैन, वन्यजन्तु जोगाउने मात्रै कुरा छ जनताको जीउधनको सुरक्षाको विषयमा उहाँहरुलाई चिन्ता नै छैन”, मगरले भने ।
नवलपुरको मध्यवर्तीसँग जोडिएका कावासोती र देवचुलीका क्षेत्रमा गैँडाले दुख दिएको विषयमा निकुञ्ज गम्भीर रहेको बताउँदै निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले गैँडा स्थानान्तरण गरेर निकुञ्ज फर्काउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट नै अनुमति आउनु पर्ने बताए । यो क्षेत्रमा एउटा व्यस्क र एउटा बूढो गैँडाले दुःख दिँदै आएको निकुञ्ज जानकारीमा रहेको बताउँदै तिवारीले बूढो गैँडालाई स्थानान्तरण गर्न प्रक्रिया अगाडि बढाइएको भए पनि अर्को वयस्क गैँडाको विषयमा छ्लफलमात्रै भएको स्वीकार गरे ।
“गैँडा स्थानान्तरण निकुञ्जले चाहेर मात्रै हुँदैन, विभागले प्रक्रिया अगाडि बढाउन पर्छ, बूढो गैँडा निकुञ्ज फर्काउने विषयमा विभागसँग समन्वय भएको छ”, उनले भने, “वयस्क गैँडालाई फर्काउने विषयमा छलफल भएको छ । तर उसको करिडोर, बासस्थान तथा प्राकृतिक अवस्था अध्ययन नगरी यसै भन्न सकिँदैन ।”मध्यवर्ती क्षेत्र बाहिरका वन क्षेत्र र बस्तीमा गैँडाले मानविय क्षति पुर्याउने गरेको विषयमा आफूहरु जानकार रहेको र निकुञ्जसँग समन्वय गरिरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शिशिर लम्सालले बताए ।
गैँडाको सुरक्षादेखि लिएर स्थानान्तरणको विषयमा देवचुलीका जनप्रतिनिधि, निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनासँग आफूहरुले छलफल गरेक बताउँदै लम्सालले प्राकृतिक रुपमा पनि कति पय अवस्थामा गैँडा स्थानान्तरण सहज नभएको बताउँछ ।देवचुली र कावासोतीको सीमानामा रहेको लोकाहा खोला हुँदै पुल मुनिबाट गैँडा पूर्व पश्चिम राजमार्गको उत्तरमा रहेको सामुदायिक वन क्षेत्रमा प्रवेश गर्ने गरेको लम्सालले बताए ।
“कावासोतीको अन्य भागमा मेस जाली लगाइएको भए पनि नारायणी नदीसँग जोडिएको लोकाहा खोला हुँदै गैँडा मध्यवर्ती बाहिर आउने गरेको छ, एक पटक स्थानान्तरण गर्न पाए खोलामा नै रोक्ने पहल गर्न सकिन्थ्यो तर स्थानान्तरण डिभिजन वन भन्दा बाहिर अर्थात् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अधिकार क्षेत्रमा पर्छ”, उनले भने ।निकुञ्जबाट निस्किएका गैँडा स्थानीयका लागी समस्या मात्रै बनेका छैनन्, उनीहरुको सुरक्षाको विषय पनि गम्भीर हुनेतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न् ।
निकुञ्ज भित्र पर्याप्त चरिचरन नहुँदा गैँडा बाहिर आउने गरेकोकाले मानवसँग उनीहरुको द्वन्द्व बढेको हो । यसले स्थानीयलाई समस्यामा त पारेको छ गैँडाको सुरक्षामा समेत चिन्ता थपेको संरक्षणकर्मी डीबी चौधरीले बताए ।”प्राय: हिउँदको समयमा निकुञ्ज भित्र घाँस सुक्ने भएकाले चरिचरनका लागि बाहिर आउने गर्छन्, त्यो बाहेक हिउँदको समयमा दक्षिणदेखि उत्तरतर्फ गैँडा चरन र घाँसका लागि निस्क्ने उनीहरुको वंशाणुगत बानी हो, चौधरीले भने, “त्यति मात्रै होइन गैँडाले हिउँदको समयमा नारायणी पारीको चिसो भन्दा सालको जंगल रुचाउने गर्छ, अहिले गैँडा आइरहेको ठाउँ मानव बस्ती बस्नु पहिलेदेखिनै गैँडाको हिउँद मासको चरिचरन हो ।” पूर्व पश्चिम राजमार्गको उत्तर भागमा मानव बस्ती बाक्लो भएकाले मान्छेसँगै गैँडाको सुरक्षामासमेत चुनौती थपिएकाले गैँडा सँगसँगै मान्छेको जीउधन जोगाउन सरोकारवालाहरु गम्भीर हुनुपर्ने चौधरी बताउँछ्न् ।
Discussion about this post