नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५ औं महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित भएको छ ।शनिबारका लागि पूर्वनिर्धारित निर्वाचन समीक्षा कार्यक्रमलाई कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको हो ।र्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रदेश कार्यसमितिलाई पत्र पठाएर शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।पूर्वनिर्धारित कार्यक्रम स्थगित हुनुको कारणबारे भने पत्रमा खुलाइएको छैन । ‘पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएकासम्मका लागि स्थगन गरिएको’, पत्रमा उल्लेख छ ।
तर, सुदूरपश्चिम प्रदेश कार्यसमितिले कार्यक्रम आयोजनाका लागि चासो नदेखाएपछि शनिबारको चुनावी समीक्षा स्थगित भएको स्रोतको दाबी छ ।‘हामीले कार्यक्रमबारे चासो देखाएनौं । मुख्यमन्त्रीज्यूले पनि रेस्पोन्स गर्नुभएन भन्ने छ,’ प्रदेश कार्यसमितिका एक पदाधिकारीले भने, ‘प्रदेश कार्यसमितिले नै कार्यक्रम आयोजना नगरिदिएपछि के को कार्यक्रम हुन्छ ।’यसअघि कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
३० चैतमा कार्यवाहक मुख्यसचिव दुलालले कर्णाली प्रदेश कार्यसमितिलाई पत्रमार्फत् सुर्खेतको कार्यक्रम ११ वैशाखमा आयोजना गरिने जानकारी गराएका थिए ।तर, सुदूरपश्चिमको धनगढीमा आयोजना गरिने भनिएको कार्यक्रम ‘विशेष कारणवश’ स्थगित भनिए पनि अर्को मिति तोकिएको छैन ।सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।मधेश प्रदेशमा २४ चैत, गण्डकी प्रदेशमा २७ चैत र लुम्बिनी प्रदेशमा २९ चैतमा कांग्रेसले चुनावी समीक्षा गरेको थियोे ।यस्तै वैशाख ३ गते कर्णालीको सुर्खेत, ५ वैशाखमा सुदूरपश्चिमको धनगढी, ७ वैशाखमा बागमतीको हेटौंडा र ९ वैशाखमा कोशीको विराटनगरमा चुनावी समीक्षा कार्यक्रम गर्ने कार्यतालिका थियो ।सुदूरपश्चिम कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो ।
































Discussion about this post