दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन्। सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्छ भन्ने माग राख्दै भेट्नका लागि प्रयास गर्दा पनि पीडित आफन्तहरूलाई सो अवसर नदिएपछि प्रधानमन्त्री शाहको आलोचनासहित प्रदर्शन गरिएको हो। आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरे।प्रधानमन्त्री शाहले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्ण विश्वकर्माको आफन्तलाई भेट्न नदिएपछि आफूहरूले त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताए।
उनले श्रीकृष्णको प्रहरी चौकीमा हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका लागि पनि सरकारलाई दबाब दिए। संयोजक श्रीपालीले भने, ‘प्रहरी कार्यालयमा मारिएको श्रीकृष्ण विश्वकर्माले न्याय पाउनु पर्छ भनेर हामी निरन्तर संंघर्षमा छौँ। अहिले हामीलाई धेरै कुरा पनि होइन कि उनले न्याय पाउनुपर्छ। सरकारले गठन गरेको जुन छानबिन समिति छ। त्यो दोषीको अधिनमा छ। प्रहरी भनेको गृह प्रशासन हो। सिडिओ कार्यालय भने गृह प्रशासनको कुरा हो। त्यही भित्रबाट जुन किसिमको छानबिन समिति बनाइएको छ। यसले सही प्रकारको रिपोर्ट ल्याउँछ जस्तो हामीलाई लाग्दैन। यसमा हामीलाई आशंका पैदा भएको छ’
उनले थपे, ‘अर्को प्रहरी कार्यालयको छानविन समितिले अरु ठाउँबाट होइन, खुर्कोट प्रहरी चौकीबाट नै त्यो शुरु गर्नुपर्छ। जहाँ उहाँलाई मारिएको छ। त्यही ठाउँबाट छानबिन सुरु गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। न्यायका लागि परिवारका सदस्यसमेत मुद्दा दर्ता गर्न पाउनु भएको छैन। प्रधानमन्त्रीज्यूले भेट्न समेत दिनु भएको छैन। उहाँ आफैँ गृह र रक्षामन्त्री पनि हुनुहुन्छ।’विरोध प्रदर्शनका क्रममा दलितमाथि हुने सबै प्रकारका हत्या, हिँसा अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो।


































Discussion about this post