काठमाडौ – नेपालमा विद्यार्थी संगठनहरू क्रमशः कमजोर बन्दै गएको विषयमा पूर्व विद्यार्थी नेता गोविन्द थपलियाले विस्तृत विश्लेषण प्रस्तुत गरेका छन्। उनले संरचनागत परिवर्तनदेखि राजनीतिक हस्तक्षेपसम्मका कारणहरूले विद्यार्थी आन्दोलन कमजोर बनेको बताएका छन् ।
थपलियाका अनुसार प्रविणता प्रमाणपत्र तह (PCL) खारेज भई +2 प्रणाली लागू भएपछि सरकारी विद्यालय र क्याम्पसबीच दूरी बढेको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार ल्याइएको पाठ्यक्रमले नेपाली समाजभन्दा विदेशी सन्दर्भमा बढी केन्द्रित गराउँदा विद्यार्थीहरूमा स्वदेशप्रतिको आकर्षण घटेको र विदेश मोह बढेको उनले बताएका छन्।
विद्यार्थी संगठन र स्ववियुमा लागू गरिएको उमेर हदबन्दीले नेतृत्व उत्पादन प्रक्रियामा अवरोध सिर्जना गरेको उनको भनाइ छ। नियमित अधिवेशन नहुँदा अनुभव र क्षमताभन्दा उमेरलाई प्राथमिकता दिइएको भन्दै उनले यसलाई “नेतृत्व विकासमा ब्रेक” का रूपमा व्याख्या गरेका छन्।
विद्यार्थी संगठनहरूमा मातृ पार्टीको अत्यधिक हस्तक्षेपले स्वायत्तता कमजोर भएको थपलियाको आरोप छ। उनका अनुसार संगठनहरू विद्यार्थीहितभन्दा पार्टीहितमा केन्द्रित हुँदा विद्यार्थीहरूसँगको सम्बन्ध कमजोर बन्दै गएको छ।
उनले विद्यार्थी संगठनहरूलाई “बढुवाको भर्याङ” का रूपमा प्रयोग गरिएको उल्लेख गरेका छन्। संगठनभित्र विद्यार्थी हितभन्दा व्यक्तिगत लाभ र राजनीतिक अवसरमा ध्यान केन्द्रित हुँदा संगठनप्रति आकर्षण घटेको बताएका छन्।
संगठन र स्ववियुमा आर्थिक अनियमितता, चन्दा संकलन र दुरुपयोगका घटनाहरू बढ्दै जाँदा विद्यार्थीहरूको विश्वास घटेको उनको विश्लेषण छ।
विद्यार्थी संगठनहरूले शिक्षा, महंगी, भ्रष्टाचार र सामाजिक न्यायका मुद्दा छोडेर पार्टीप्रति निष्ठामा सीमित हुँदा आन्दोलन कमजोर भएको उनले बताएका छन्
थपलियाले विद्यार्थी संगठनको औचित्य अझै कायम रहेको स्पष्ट पार्दै सुधार र सुदृढीकरण आवश्यक रहेको बताएका छन्।
“विद्यार्थी संगठनहरू सामाजिक न्याय, जनजीविका र राष्ट्रियताको सवालमा अझै पनि प्रभावकारी फोरम हुन सक्छन्,” उनले भने।
उनका अनुसार माथि उल्लेखित कमजोरीहरू सच्याउँदै अगाडि बढेमा विद्यार्थी आन्दोलन पुनः सशक्त बन्न सक्ने सम्भावना रहेको छ ।
#थपलिया पुर्व बिद्यार्थी नेता हुन् ।
































Discussion about this post