Nirvik Khabar

ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार

Advertisements
Single Page Long - 2

चितवन, वैशाख ५–

बिरामीलाई आवश्यक समयमा सहज रुपमा रगत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालमा राजनीतिकरण भएपछि भाडभैलो मच्चिएको छ । शनिबार गैंडाकोटमा आयोजित पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमै संस्थामा राजनीतिकरण भएपछि ब्लड डोनर्स सोसाइटीको भविष्य माथि नै प्रश्न उब्जिएको छ ।
सोसाइटीको वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने अध्यक्षका प्रत्यासी थिए । तर महासचिव अञ्जन दवाडीले अध्यक्षमै दावी गरेपछि संस्था जोगाउन भन्दै वरिष्ठ उपाध्यक्ष न्यौपाने पछि हट्न बाध्य भए । ‘वरिष्ठ उपाध्यक्ष भएकाले मेरो अध्यक्ष बन्ने बाहेक अर्को ठाउँ थिएन, महासचिव अब कार्यकारिणी उपाध्यक्ष हुने ठाउँ थियो, तर राजनीतिकरण गरेर संस्थालाइ नै बदनाम गर्ने कोशिस भएपछि पछि हटे, शुभेच्छा दिएर फर्किए’–न्यौपानेले भने ।
संस्थामा जम्मा ५० जना मात्रै मतदाता रहेका थिए । थोरै मतदातामा चुनाव गर्न नहुने पक्षमा न्यौपाने थिए । तर अर्को पक्ष जसरी पनि अध्यक्ष बन्ने ढिपि कसेपछि संस्था जोगाउन भन्दै न्यौपाने पछि हटे । बहुसंख्यक मतदाताले वरिष्ठ उपाध्यक्षलाई अघि नबढाएको भन्दै रुष्ट हुन पुगे । फलस्वरुप सानो संस्थालाई विधिसम्मत र सर्वसम्मत नबनाई राजनीतिकण भएपछि ब्लड डोनर्स सोसाइटी भरतपुर र माडी नगर कमिटीसहितका प्रतिनिधिहरुले निर्वाचन पक्रिया नै बहिष्कार गरेका छन् । ‘भर्खर पाइला सार्दै गरेको सामाजिक संस्थामा राजनीतिकण गर्न थालियो, सर्वसम्मत रुपमा सबैलाई मिलाएर लैजानुपर्नेमा एकलौटी गर्न थालिएपछि माडी कमिटीले बहिष्कार गरेको हो’–माडी नगरकमिटी अध्यक्ष डोलराज आचार्यले भने ।
भरतपुर महानगर कमिटी अध्यक्ष दीपक घिमिरेले पनि सामाजिक संस्थामा गुटउपगुट बन्न थालेपछि महाधिवेशन छाडेर निस्किएको बताए । ‘रगत नपाएर छटपटिएका रगत व्यवस्थापन गर्छौ भनेर संस्थामा लागेको हो, तर गुटउपगुट राजनीति अहिले नै देखिन थालेपछि बस्न उचित नलागेर हामी निस्कियौं’–महानगर कमिटी अध्यक्ष घिमिरेले भने ।
अध्यक्ष बन्न कस्सिएका अञ्जन दवाडी र यसअघिका केन्द्रीय सदस्य रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय कार्यकर्ता हुन् । सोसाइटीका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी रास्वपाका कोषाध्यक्ष हुन् । ब्लड डोनर्स सोसाइटीलाई राजनीतिकरण गर्दै रास्वपाको एकलौटी गर्न थालेपछि लामो समयदेखि सामाजिक सेवामा सक्रिय प्रतिनिधिहरु निराश हुँदै बहिष्कार गर्न पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार जिल्ला समितिका केही पदाधिकारी, केन्द्रीय सदस्यहरुले पनि निर्वाचन बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस