Nirvik Khabar

दिगो विकास लक्ष्य २०३० र मातृशिशु सुरक्षा सञ्जालको सान्दर्भिकता

सूर्य भट्ट-

नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ। त्यसैगरी महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य एवं बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहार सम्बन्धी हकको सुनिश्चितता गरेको छ। विगत दुई दशकमा नेपालले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति हासिल गरे पनि अझै धेरै आमा तथा नवशिशुले अकालमा ज्यान गुमाइरहनु परेको छ।

नेपालमा नवशिशु मृत्युदर प्रति १००० जीवित जन्ममा २१ (नेपाल जनसांख्यिक सर्वेक्षण २०२२) र मातृ मृत्युदर प्रति १,००,००० जीवित जन्ममा १५१ रहेको छ (राष्ट्रिय जनगणना २०२१)। विगतमा मातृस्वास्थ्य सुधारमा देखाइएको प्रतिवद्धता र प्रगतिको आधारमा नेपालले सहश्राब्दी विकास लक्ष्य पदक प्राप्त गरेको थियो।

संविधानले प्रत्याभूत गरेकोे स्वास्थ्य सम्बन्धी मौलिक हकको उपयोग तथा विश्व मञ्चमा दिगो विकास लक्ष्य २०३० प्राप्त गर्न गरेको प्रतिवद्धता हासिल गर्न संघ, प्रदेश र स्थानीय तहले सहकार्य र समन्वयात्मक तवरले कार्य गर्नुपर्ने देखिन्छ। तथापि, मौजुदा संरचना र स्रोतका हिसाबले महत्वाकांक्षी लक्ष्यका रुपमा रहेको दिगो विकास लक्ष्य २०३० लाई भेट्टाउन स्वास्थ्य सम्बन्धी नीति, रणनीति र कार्ययोजनाले स्पष्ट मार्गनिर्देश गरे पनि कार्यान्वयन तहमा उल्झनहरु देखिएका छन्।

दिगो विकास लक्ष्य २०३० अनुसार नवशिशु मृत्युदरलाई घटाएर प्रति १००० जीवित जन्ममा १२ र मातृ मत्युदरलाई घटाएर प्रति १,००,००० जीवित जन्ममा ७० मृत्युमा पु¥याउनु पर्छ। सन् १९९६ देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गर्दा पाँच वर्ष मुनिका बालबालिकाको बाल मृत्युदर न्यूनीकरण गर्न सफल सात देशमध्ये नेपाल पनि एक रहे पनि दिगो विकास लक्ष्य २०३० का पदचाप पहिल्याउन नेपालका सामु अझै कैयौं चुनौती बाँकी छन्।

यी चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न वान हार्ट वल्र्डवाइडले आफ्नो स्थापना कालदेखि नै नेपालमा विद्यमान  तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै नेपालको दिगो लक्ष्य हासिल गर्ने प्रयासमा सहयोग गर्दै आएको छ। मातृ तथा शिशु स्वास्थ्यका विविध क्षेत्रमा रहेका असमानता एवं तुलनात्मक न्यून प्रगतिहरुलाई सम्बोधन गर्न मातृशिशु सुरक्षा सञ्जालको अवधारणा महत्वपूर्ण हुने देखिन्छ।

मातृशिशु सुरक्षा सञ्जाल आमा र बच्चाको स्वास्थ्यलाई सम्बोधन गर्ने महत्वपूर्ण रणनीति हो। मातृशिशु सुरक्षा सञ्जालले आमा तथा नवशिशुको जीवन सुरक्षा तथा समग्र जीवनको गुणस्तरीयता सुनिश्चित गर्न आमा र नवशिशुको स्वास्थ्य तथा उनीहरुलाई आवश्यक सेवा प्रवाहमा संलग्न हुनसक्ने सम्पूर्ण पक्षहरु जस्तैः परिवार, समुदाय, समुदाय स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधि उपकरण, आपूर्ति व्यवस्था, प्रेषण प्रणाली र विभिन्न तहका सरकार तथा सरोकारवाला लक्षित कार्यक्रमहरु समेट्छ।  विभिन्न कारणवश मातृशिशु स्वास्थ्यमा पहुँच नभएका वा सेवामा पहुँच भए पनि गुणस्तरीय सेवा नपाएका आमा तथा नवशिशुहरुलाई प्राथमिकतामा राखेर उनीहरुकै संलग्नतामा यस रणनीतिले काम गर्छ।

मातृशिशु सुरक्षा सञ्जाल वान हार्ट वल्र्डवाइडको विगत २५ वर्षको विभिन्न देशको मातृशिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमको सिकाइबाट परिष्कृत भइरहेको छ। नेपालमा सन् २०११ देखि वान हार्ट वल्र्डवाइडले समाज कल्याण परिषद्को स्वीकृति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हालसम्म २८ जिल्लामा यस रणनीतिमार्फत मातृशिशु स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा सहयोग गर्दै आइरहेको छ।

नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य जिम्मेवारी दिएको छ। आधारभूत मातृशिशु स्वास्थ्य सेवा समुदायस्तरमै प्रदान गर्न सकिएमा आमा र बच्चाका स्वास्थ्य समस्याहरुको समयमै सही पहिचान, प्रेषण र उपचार हुनसक्छ र स्वास्थ्य जटिलताहरुलाई न्यूनीकरण गर्न सकिन्छ।

मातृशिशु स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवाको अति महत्वपूर्ण पक्ष भएको कारण स्थानीय सरकारसँग सहकार्य गर्दा आमा र नवशिशुको जीवन सुरक्षा तथा सेवाको गुणस्तर सुधारमा गुणात्मक प्रगति गर्न सकिने हाम्रो सिकाइ रहेको छ। स्थानीय सरकारसँग आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत तथा साधन परिचालन गर्ने अधिकार रहेको अवस्थामा आधारभूत स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनमा स्थानीय सरकारको दक्षता अभिवृद्धि गर्दा समग्रमा देशले मातृ तथा नवशिशुसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने देखिन्छ।

विशेषगरी मातृशिशु स्वास्थ्य सूचकहरु कमजोर रहेका तथा भौगोलिक रुपमा विकट स्थानीय तहहरुलाई प्राथमिकतामा राखी त्यहाँ रहेका स्वास्थ्य संस्थाहरुको सबलीकरण, स्वास्थ्यकर्मीहरुको प्राविधिक ज्ञान तथा सिपको अद्यावधीकरण, औषधि तथा चिकित्सकीय औजार–उपकरणको उपलब्धता एवं ती स्वास्थ्य संस्थाहरुलाई विशिष्टीकृत स्वास्थ्य संस्थाहरुसँग सम्बन्ध स्थापना गरी प्रेषण प्रणालीलाई सबलीलकरण गर्न मातृशिशु सुरक्षा सञ्जाल प्रभावकारी रहेको छ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि स्वास्थ्य संस्थाको तयारी, स्वास्थ्यकर्मीको ज्ञान, सिप र उत्प्रेरणाका अतिरिक्त सेवा प्रवाहको लागि आवश्यक वातावरणको व्यवस्थापनमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने हुँदा स्वास्थ्य सेवा प्रवाहमा यी सरोकारवालाहरुलाई संलग्न तथा जवाफदेही बनाउनु आवश्यक रहन्छ।

अझै पनि धेरै गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य सेवा उपयोग गर्न परिवार वा समाजमा व्याप्त विभिन्न अवरोधहरु छिचोल्नु पर्ने अवस्था छ। यस्तो परिस्थितिमा मातृशिशु स्वास्थ्य सुधारको लागि परिवार र समाजलाई यसको आवश्यकता बुझाई गर्भवती र सुत्केरी महिला तथा नवशिशुले समयमा नै उपयुक्त स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न पनि यो रणनीति प्रभावकारी हुन्छ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले उपलब्ध गराउने स्वास्थ्य सेवाप्रति सेवाग्राहीको विश्वासको वातावरण सिर्जना गर्न पनि यस रणनीतिले प्रभावकारी भूमिका खेलेको छ। जसले गर्दा आवश्यक स्वास्थ्य सेवा सुलभ र सहज तरिकाले उपयोग गर्ने अवस्था सिर्जना हुने तथा स्थानीय स्वास्थ्य संस्थाहरुको समुचित उपयोग हुने हुन्छ।

यसरी हेर्दा मातृशिशु सुरक्षा सञ्जालले मातृशिशु स्वास्थ्य सेवाको पहुँच, गुणस्तर तथा सेवाको निरन्तरतामा अभिवृद्धि भई आमा र बच्चाको जीवन सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सकारात्मक परिवर्तन गर्ने देखिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस