अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भएको भन्दै ठगी गर्ने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका– २० राँझा बस्दै आएका ३७ वर्षीय मोहन कोइराला छन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएको पाइएपछि पक्राउ गरिएको बताए । ‘निगरानी गर्ने क्रममा कोइरालाले सरकारी कार्यालय र संघसंस्थासँग रकम असुली गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो,’ डाँगीले भने ।
कोइरालाले विगत केही समयदेखि बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थालाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको डिएसपी डाँगीले जानकारी दिए ।
सोधपुछ गर्दा कोइरालाले आयोग तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीलाई गालीगलौज गर्नुका साथै कामकारबाहीमा समेत अवरोध गरेको हुँदा उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘कोइरालाबाट कोही ठगिएको भए वा निजले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरिएको छ,’ डिएसपी डाँगीले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।
Discussion about this post