Nirvik Khabar

चितवनको सडकमा भेटिएकी दिपा ११ वर्षपछि घर फर्किदा कञ्चनपुरमा भव्य स्वागत

निर्भीक खबर
निर्भीक खबर

चितवन- घरबाट हराएको ११ वर्षपछि चितवनबाट कञ्चनपुर फर्किएकी ४५ वर्षीय दिपा रोकायालाई परिवार र गाउँलेले भव्य स्वागत गरेका छन् ।धनगढीबाट हराएकी उनलाई मानव सेवा आश्रम चितवनबाट परिवारले घरमा लगेर स्वागत गरेको हो ।

दिपाको आगमनलाई लिएर शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ शान्तिटोलमा दिनभर खुसीयाली छायो । टाउकोमा रुमाल बाँधेकी दिपालाई फूलमाला, अबिर र अक्षेतासहित गाउँलेहरुले भव्य स्वागत गरे । गाउँमा नयाँ बेहुली भित्र्याएजस्तै देखियो । उनलाई हेर्न घर छेउमा मानिसहरुको ठूलो भीड जम्मा भयो । बुढापाकाले १२ वर्षमा खोलो पनि फर्किन्छ भन्थे तर दिपा भने हराएको ११ वर्षमा नै घर फर्किइन् ।

चितवनका सामाजिक अभियन्ता अर्जुन भुसालका अनुसार दिपा ११ वर्षअघि धनगढीको सेती प्रादेशिक अस्पतालबाट हराएकी थिइन् । बिरामी छोरीलाई उपचार गर्न अस्पताल पुगेकी उनी अचानक छोरीको मृत्युको खबरले स्तब्ध भएपछि मानसिक सन्तुलन गुमाएर भौतारिँदै अस्पतालबाट गायब भएकी थिइन् । घरमा उनको एक छोरा र छोरी थिए तर उनी बेहोसी भएर एक हजार ६०० भारतीय रुपैयाँसहित राजमार्गमा गाडी चढेर धनगढीबाट हिडिन् । विभिन्न ठाउँमा भौतारिँदै हिडेकी उनी अन्तत भरतपुरको सडकमा आइपुगिन् । मानसिक सन्तुलन गुमाएकी उनी भरतपुरको सडकमा बेवारिसे बनेर हिड्न थालेको अवस्थामा मिलनचोक क्षेत्रबाट मानवसेवा आश्रमकी कर्मचारी देवी आचार्यको टोलीले सात वर्षअघि उद्धार गरेको थियो ।

मानव सेवा आश्रम चितवनका व्यवस्थापक नवराज पोखरेलका अनुसार सात वर्षदेखि आश्रममा बसेकी उनको भिडियो अर्जुन भुसालले सामाजिक सञ्जालमा हालेपछि परिवारले भिडियो देखे र आमा खोज्दै छोराछोरी आश्रममा आइपुगे । हिजो शनिबार आश्रमले आमालाई परिवारलाई सुम्पिएपछि घरमा लगेर गाउँले र परिवारले स्वागत गरेका हुन् । आश्रमले दिपाको चितवन मेडिकल कलेजमा मानसिक रोगको उपचार गराएको थियो । अहिले दिपा नियमित औषधि सेवन गर्छिन् ।

आमा हराउँदा १५ वर्ष रहेको उनको छोरो मिलन रोकाया अहिले २६ वर्ष भएको छ भने छोरी रमिता रोकाय अहिले १२ वर्ष भएकी छन् । उनको श्रीमान् अम्बर रोकाय पनि उनी फर्किएर आउने आशमा अर्काै विवाह पनि नगरी बसेका छन् । बाजुरा जिल्लाबाट कञ्चनपुर झरेका उनीहरुले दिपा चितवन पुगेको भन्ने सोचेका पनि थिएनन् । उनीहरुले मुख्य खोजी सुदुरपश्चिमकै जिल्लामा गरेका थिए तर सामाजिक सञ्जालको कारणले आमा भेट्न सफल भए ।
दिपाको छोरा मिलनले नारायणी अनलाइनलाई यती धेरै वर्षपछि आमा भेट्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘ घरमा सबैले स्वागत गरे । अहिले पनि आमालाई हेर्न गाउँलेहरु आइरहेका छन् । अर्जुन भुसाल दाईले घर जान मन छ भनेर फेसबुकमा भिडियो पोष्ट गरेपछि आमा हो भन्ने किटान गरेर हामी लिन चितवनसम्म पुगेर आमालाई ल्याइयो । हाम्रो परिवारमा खुसीको सिमानै छैन ।’

मधुसूदन दवाडी (Naryanionline)

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available