Nirvik Khabar

रुसले सिरियामा गरेको हवाइ आक्रमणमा १३ जना मारिए

दमासकस– रुसले उत्तरपश्चिम सिरियामा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित १३ जना मारिएका छन् । घटनामा घाइते भएका ३० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो ।बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् ।

गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरियामाथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो। तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन् । उनले आफू बजारमा रहेको बेला उक्त आक्रमण भएको बताए ।उनले भने, ‘ कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा आक्रमण भयो । एक्कासि मेरो अगाडि एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरूलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ ।’

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभर एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको उनको भनाइ थियो।

अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जहाँ छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए। दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारण मारिएको जनाइएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस