Nirvik Khabar

उपचुनावको अन्तिम धक्का : गठबन्धनका शीर्ष नेताको चर्को दौडधुप

काठमाडौँ । प्रतिनिधिसभाका तीन क्षेत्रमा हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलहरुले बिहीबार (आज) अन्तिम धक्का दिएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन आज नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतले अन्तिम धक्का दिएका हुन् ।

सत्ता गठबन्धनबाट तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादव उम्मेदवार छन् । उनीहरुलाई जिताउन सत्ता गठबन्धनका शीर्ष नेताहरु बुधबार र बिहीबार चुनाव प्रचारका लागि मैदानमा उत्रिए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेसपाका अध्यक्ष बाबुराम भट्टराई तनहुँ–१ मा गठबन्धनका उम्मेदवार भट्टराईका लागि भोट माग्न बुधबार तनहुँ पुगे ।

तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायत ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँ मुख्य प्रतिस्पर्धा भने भट्टराई, खनाल र वाग्लेबीच हुने आकलन गरिएको छ ।

बुधबार तनहुँ–१ को डुम्रेमा आयोजित चुनावीसभालाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सम्बोधन गरे । उनीहरुले कांग्रेस उम्मेदवार भट्टराईले चुनाव जितेमा मन्त्री बनाउने उद्घोषसमेत गरे । गठबन्धनका शीर्ष नेताहरु रास्वपाका उम्मेदवार वाग्लेमाथि खनिए । उनीहरुले वाग्ले अवसरवादी र माटोले नचिनेको उम्मेदवार रहेको आरोप लगाए ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, लगायतका नेताहरु तनहुँमा भट्टराईको पक्षमा माहोल बनाउन व्यस्त छन् । कांग्रेसका शीर्ष नेताहरुले घरदैलो गरेर भट्टराईलाई भोट मागिरहेको अवस्था छ ।

सोमबार यता तनहुँ–१ मा रास्वपाको चुनावीसभा भएको छैन । एमालेका उम्मेदवार खनालको पक्षमा माहोल बनाउन एमाले उपमहासभिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, नेता किरण गुरुङ लगायतले आज अन्तिम कसरत गरेका छन् ।

 

गठबन्धन र एमालेको चुनावीसभा

बारा–२ मा आज सत्ता गठबन्धन र एमालेको अन्तिम चुनावीसभा भएको छ । यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल मुख्य प्रतिस्पर्धी देखिन्छन् । सत्ता गठबन्धनका शीर्ष नेता आज बारा–२ को गढीमाईमा आयोजित चुनावीसभामा सहभागी भए । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको पक्षमा भोट मागे ।

प्रधानममन्त्री प्रचण्डले बारा–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चित रहेको बताए । गठबन्धनलाई बलियो बनाउन यादवलाई बारामा चुनाव लड्न पठाएको प्रचण्डको भनाइ थियो ।

यता कांग्रेस सभापति देउवाले पनि अध्यक्ष उपेन्द्रलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरे । यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको उनको भनाइ थियो ।

‘उहाँलाई एक पटक जिताएर पठाउनुस्, पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझे अर्को चुनावबाट विकल्प सोच्दा हुन्छ,’ देउवाले भने ।यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र लोसपाका अध्यक्ष ठाकुरले पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि उपेन्द्रको जित अनिवार्य भएको बताए । गठबन्धनका नेताहरुले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि एमालेका कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको उनीहरुको भनाइ छ ।

 

यस्तै पचरौता नगरपालिकास्थित बेनौलीमा एमालेको चुनावीसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले बारा–२ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराएर विकासको अभियानमा साथ दिन आग्रह गरे । गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने ओलीले बताए ।

‘यिनीहरुलाई अन्त्य गर्न जुन ठाउँमा पायो त्यहीँ पछार्नु पर्छ, हराउनुपर्छ,’ उनले भने, ‘एक ठाउँमा हारेका नेता यता आइपुगेछन् । यी डुलुवालाई बारावासीले हराउने छन् ।’ रास्वपा, जनतमत, आम जनता पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि आज अन्तिम प्रचार–प्रसार गरे ।

चितवन–२ मा गठबन्धन र रास्ववाको सभा

https://www.youtube.com/watch?v=msehSyeQ9Hs

चितवन–२ मा मुख्य रूपमा रास्वपा, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसबाट निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

प्रचार–प्रसारको अन्तिम दिन रास्वपा चितवन—२ केन्द्रित भयो । सभापति लामिछानेको पक्षमा माहोल बनाउन तनहुँ–१ का उम्मेदवार वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेल पनि चितवनको चुनावीसभामा पुगे । चितवनको गेस्टहाउस चौरको चुनावीसभामा लामिछानेले रास्वपाविरुद्ध सारा राजनीतिक दल लागिपरेको आरोप लगाए । विभिन्न षड्यन्त्र र जालझेललाई चिरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार विजयी हुने दाबी गरे ।चितवनको क्याम्पस चौरमा सत्ता गठबन्धनको चुनावीसभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितनारायण श्रेष्ठलाई जिताए गठबन्धन कसिलो हुने बताए । वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने भन्दै चितवनको विकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उनीहरुको आग्रह थियो ।

यस्तै चितवन–२ का एमाले उम्मेदवार न्यौपानेले उपचुनाव प्रचारको अन्तिम दिन पत्रकार सम्मेलन गरे । रवि लामिछानेले सभ्य समाज निर्माण गर्न नसक्ने आरोप लगाउँदै उनले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्ने कल्पना गर्न नसकिने बताए ।

‘के हो दृष्टिकोण र समाज निर्माणको सोच ? सभ्य समाज हो कि प्रयोगको थलो बनाउन खोजिँदैछ ?’, उनको प्रश्न थियो, ‘हामी भिजिलान्तेहरु तयार गर्न चाहँदैनौं । हामी देश निर्माण गर्ने शक्ति निर्माण गर्न चाहन्छौं । आफ्नो भिजन प्रस्तुत गर्न नसक्ने अनि जनतालाई गाली गर्ने ?’

अन्तिम धक्का दिन आज दिनभर उम्मेदवार र दलका नेताहरुले निकै दौडधुप गरेका छन् । निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजै राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस