काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । चार कांग्रेसी नेताहरुलाई सन्देश पठाएर उनले कांग्रेस छाडेको जनाएका हुन् । वाग्लेले कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई सन्देश पठाएर आफूले कांग्रेस छाडेको जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेपछि वाग्लेले कांग्रेस छाडेको बताएका हुन् । उनले रास्वपाबाट टिकट पाउने पक्का भएसँगै कांग्रेस छाडेको बताएका हुन् ।
त्यसपछि भने उनले अपरान्ह सामाजिक संजाल फेसबुकमार्फत आफूले कांग्रेस छाडेको जनाएका छन् ।
यस्तो लेखेका छन् उनले सामाजिक संजालमा
नेपाली काँग्रेसबाट अलग भएको घोषणा ****
वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।
त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएको जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।
तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।
Discussion about this post