Nirvik Khabar

चितवनमा जुत्ता चप्पल मेलाको नाममा ‘ड्यामेज’ सामान बेच्दै व्यवसायी

चितवन, ३ चैत 

फागुन १८ गतेदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको चितवन जुत्ता चप्पल मेलामा ड्यामेज सामान बिक्री भइरहेको छ ।
नेपाली उत्पादन भन्दै सस्तोको नाममा उपभोक्तालाई ठग्नेगरी खराब र कमसल सामान बिक्री भइरहेको उपभोक्ताको गुनासो छ । चितवनको रत्ननगर–१० का कृष्ण शर्माले राम्रो देखेर किनेको पार्टी शुज छ दिन लगाउन नपाउँदै च्यातिएको गुनासो गरे । ‘मेला सुरु भएपछि नेपाली जुत्ता पाइन्छ भनेर भेनस शुजको स्टलबाट पार्टी शुज किनेको थिएँ’ उनले भने, ‘एक हप्ता लगाउन नपाउँदै जुत्ताको छालाबाट माथिल्लो लेयर उप्किन सुरु भयो ।’

किन्ने बेलामा राम्रो र आकर्षक देखिएको जुत्ता लगाउँदै गएपछि केही दिनमै उप्किन सुरु गरेको उनले गुनासो गरे । जुत्ता साट्न जाँदा स्टलमा रहेका कर्मचारीहरुले विभिन्न बाहाना बनाउँदै जुत्ता साट्न आनाकानी गर्ने गरेको उनले बताए । मेलामा नेपाली उत्पादन भनेर विभिन्न १० कम्पनीका जुत्ता चप्पलहरु बिक्री भइरहेका छन् । जुत्ता चप्पल मेलामा भेटिएका भरतपुरका छवि लामिछानेले जुत्ता चप्पलको मूल्य व्यक्तिअनुसार फरक गर्ने गरेको बताए । ‘मेरो साथीले सस्तोमा चप्पल लिएको भएर म पनि किन्न आएको थिएँ’ लामिछानेले भने, ‘त्यही स्टलमा त्यही सामानको भोलिपल्ट दोब्बर मूल्य भनेर बिक्री भइरहेको थियो ।’ मेलामा व्यक्ति अनुसार फरक फरक मूल्य लिएर उपभोक्ता ठग्ने काम भइरहेको लामिछानेको भनाइ छ ।

आफूले सधैँ नेपाली जुत्ता चप्पल नै प्रयोग गर्ने गरेको भन्दै लामिछानेले नाम चलेका कम्पनीलाई सहभागी नगराइदा आयोजकको नियतमाथि शंका गर्ने ठाउँ रहेको बताए । ‘मैले सधैँ नेपाली जुत्ता चप्पल नै प्रयोग गर्ने गरेको छु, गुणस्तर र मूल्य ठीकै हुन्छन्’ लामिछानेले भने, ‘यहाँ मेलामा त न गुणस्तर छ, न त मूल्य नै सस्तो छ । तर, भन्ने बेलामा ५० प्रतिशतसम्म छुट भनेर हल्ला गरिएको छ ।’ नेपाली सामान भनेर उपभोक्तालाई ठगी गर्दै अन्यत्र उत्पादन भएको सामान बिक्री भइरहेको लामिछानेको भनाइ छ ।
चितवनको सौराहाका जीवन गिरीले कहीँ कतै बिक्री नभएका ड्यामेज सामानहरु बिक्री गर्नका लागि मेला लगाइएको बताए । ‘सबै ठाउँबाट फिर्ता भएका सामान बेच्न चितवनमा मेलाको नाममा उपभोक्तालाई ठग्ने काम भएको छ’ उनले भने, ‘सामानमा ग्यारेन्टी भनेर बेच्छन् तर सामान साट्न जाँदा विभिन्न बाहना बनाउने गरेका छन् ।’

मेलाको बारेमा उपभोक्ताबाट आएको गुनासो मेलाका संयोजक होमनाथ उपाध्यायले मूल्य एउटै सामानको दुई दिनमा मूल्य फरक पर्नुका कारण त्यसको गुणस्तर बएको दाबी गरे । ‘सामानको क्लासअनुसार मूल्य निर्धारण गरेर बिक्री वितरणका लागि राखिएको हुन्छ’ उपाध्यायले भने, ‘ए क्लासको समानलाई बीको भन्दा मूल्य बढी पर्छ ।’ उनले विदेशबाट जुत्ताको सेल र अपर ल्याएर यहाँ फिटिङ हुने गरेको स्वीकार गर्दै ती सामानलाई नेपाल सरकारले नै कच्चा पदार्थको रुपमा राखेको बताए ।
‘कतिपय व्यवसायीले जुत्ताको अपर र सोल दुवै आयात गरेर यहाँ जोडेर बिक्री गर्नुहुन्छ’ उपाध्यायले भने, ‘कोही व्यवसायीले भने सोलमात्रै वा अपर मात्रै ल्याएर यहाँ जोडेर बिक्री गर्नुहुन्छ ।’ ती सामानलाई भन्सारबाटै कच्चा पदार्थ भनेर राजस्व बुझाएर ल्याउन पाइने भएको हुँदा यहाँ ल्याएर जोडेर मात्रै बिक्रीगरे पनि ती सामान नेपाली उत्पादन हुने उपाध्याको दाबी छ । मेलाको स्टलमा बसेका एक कर्मचारीले आफूहरुको उत्पादन नेपाली नभएको स्वीकार गर्दै, विदेशबाट सामान ल्याएर नेपालमा सिलाएर मात्रै बिक्री गर्ने गरेको बताए । ‘सबै कुराहरु भारतबाट आउँछ’ उनले भने, ‘हामीले यहाँ सिलाएर नेपाली ट्याग लगाएर बेच्ने गरेका छौँ ।’

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा जुत्ता चप्पल मेलाको आयोजना गरिएको हो । मेलामा बि एफ डियर हिलर, शुजल्याण्ड, शिखर शुज, क्रसरोड, फस्ट वाक, रनशुज, भेनस शुज, केटिएम शुज, शिल, हाईलाईफ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्री बिक्रीका लागि राखिएको छ ।

मेलामा नेपाली नाम चलेका उद्योगहरु गोल्डस्टार, ब्ल्याक हर्स, रोयल शुज, म्याजिक फुटवयर, क्यालिबर शुज, डोचा शुज जस्ता ब्राण्डका उत्पादन राखिएको छैन । विदेशमा समेत आफ्नो उत्पादन निर्यात गर्ने उद्योगको सामानलाई मेलामा सहभागी नगराइ चितवनमा स्वदेशी उत्पादनको नाममा कम गुणस्तरीय सामान बिक्री भइरहेको आम उपभोक्ताको बुझाइ छ ।

 

र यो पनि हेर्नु

स्वदेशी जुत्ता–चप्पल मेलामा बिदेशी ट्याग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस