काठमाडौं । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीब्र भएको छ । प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाव–कितावमा लागेका छन् । दलहरु आन्तरिक रुपमा भेटघाट, छलफल र वार्तामा केन्द्रित भएका छन् । प्रतिनिधि सभामा कूल २७५ जना सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भइसकेका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरुले पुष २४ गते सम्ममा बुझाइ सक्नेछन् । यो सँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुनकुन दल मिलेर सरकार बन्छ भन्ने आम चासो पनि बढ्दै गएको छ । यस पटकको संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ भने पाँच जना स्वतन्त्र सांसदहरुले पनि चुनाव जितेका छन् । नयाँ सरकार बनाउनका लागि धेरै चुनौती देखिएको छ र धेरै अवसर पनि ।
यस्तो छ अंकगणित
समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको नेपाली काँग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ । काँग्रेसको कुल सांसद ८९ हुनेछन् । त्यस्तै नेकपा (एमाले) को प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ । नेकपा (माओवादी केन्द्र) को १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट हात पारेको छ । उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ । यिनै सात पार्टीले थ्रेस होल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । समानुपातिकबाट सिट नपाए पनि नेकपा (एकीकृत समाजवादी) को १० सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिट र स्वतन्त्र सांसदहरु ५ सिटको संख्यामा रहेका छन् ।
काँग्रेस नेतृत्वमा पाँच विकल्प
संसदको अंक गणित हेर्दा संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस बनेको छ । काँग्रेसको कुल सिट संख्या ८९ छ । स्वभाविक रुपमा संसदको पहिलो ठूलो दलले सरकारको दाबी गर्नेछ । र आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ । त्यसो त विगतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् र निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । सोमवार मात्र गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेको अवस्थामा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपी यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन ।
पहिलो विकल्प
नेपाली काँग्रेसको ८९ सिट, नेकपा (माओवादी केन्द्र) को ३२, नेकपा (एकीकृत समाजवादी) को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा १३६ सिट पुग्छ । सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो । यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ । यसमा स्वतन्त्रबाट निर्वाचित दुई सांसदलाई समावेश गराउन सकियो भने बहुमत पुग्छ र सरकार बनाउन सकिन्छ ।
दोश्रो विकल्प
त्यस्तै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा पनि बहुमतको सरकार बन्नसक्छ ।
तेश्रो विकल्प
अर्को, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलाउँदा १५२ सिट पुग्छ । सरकारको गठनको यो अर्को सम्भावना हो ।
चौथो विकल्प
नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट पुग्छ । यसो हुँदा नेकपा (माओवादी केन्द्र) लाई बाहिर राखेर काँग्रेसले सरकार बनाउन सक्छ ।
पाँचौं विकल्प
अर्कोतर्फ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको १४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाको रुपमा लिन सकिन्छ । माथि उल्लेख गरिएका गठबन्धनहरुमा स्वतन्त्र सांसदहरुको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ ।
त्यसैगरी नेकपा एमालेको नेतृत्वमा पनि सरकार गठनका लागि यी विकल्प हुनसक्छन् ।
नेकपा (एमाले) को नेतृत्वमा पहिलो विकल्प
दोस्रो दल बनेको नेकपा एमाले पनि सरकार गठनको लागि अंक गणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरुले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी गर्दा १३४ सिट पुग्छ । सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरुको सहयोग लिनुपर्ने हुन्छ ।
एमालेको नेतृत्वमा दोस्रो विकल्प
त्यस्तै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १४६ संख्या पुग्छ । जुन संख्याले सहजै सरकार गठन गर्न सकिन्छ ।
तेस्रो विकल्प
अर्को, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ त्यहाँ फेरि ५ सिट स्वतन्त्र सांसदहरुको सहयोग अनिवार्य हुन्छ ।
एमालेको नेतृत्वमा चौथो विकल्प
त्यस्तै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ र सरकार गठन गर्न सकिन्छ ।
नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारको विकल्प
अर्को अत्यन्तै सहज विकल्पको रुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) को सरकार बनाउँदा १६७ सिट पुग्छ । सहजै सरकार बनाउन सकिन्छ ।
संघीय सरकार बनाउन विभिन्न विकल्पको बारे छलफल हुँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा उपाध्यक्ष जस्ता पदहरुमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरु हुनेछन् । त्यस्तै सातै प्रदेशमा
मुख्यमन्त्रीहरु पनि भागवण्डा गर्नु पर्नेछ । यी सबै राजनीतिक कुराहरु कसरी टुंगिन्छन् र कसको सरकार बन्ला भन्ने आम चासो बढेको छ । उता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले पनि मौका आएमा सरकारको नेतृत्व गर्ने बताउँदै आएका छन् । माओवादी त प्रधमामन्त्री दल उछिट्याउन सकिन्छकि भन्नेमा नै छ । तर पनि कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केही दिनमा देखिने नै छ ।
Discussion about this post