ब्रिसबेन । गैर आवासीय नेपाली सङ्घ, क्विन्सल्यान्डले यही नोभेम्बर १३ मा नेपाल फेस्टिभल ब्रिसबेन २०२२ आयोजना गर्ने भएको छ । फेस्टिभल ब्रिसबेनको किंग जर्ज स्क्वायरमा आयोजना गरिने एनआरएनए क्विन्सल्यान्डका संयोजक विनोद भक्त आचार्यले जानकारी गराए ।
नेपाली समुदायलाई लक्षित यो फेस्टिभल सन् २०१० देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । आयोजकले यस वर्ष विभिन्न क्षेत्रका कम्तीमा १० हजार मानिसको उपस्थिति रहने अपेक्षा गरेको छ । फेस्टिभलको उद्देश्य भनेको अस्ट्रेलियाको बहु सांस्कृतिक र सामाजिक सद्भावको प्रवर्द्धन र योगदान, समुदायका सदस्यहरूबिच एकताको भावना ल्याउने र नेपाली संस्कृति र इतिहासको संरक्षण गर्ने रहेको छ ।
फेस्टिभलले व्यवसायी समुदायलाई आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने र नेपाली पर्यटन उद्योगको प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने लक्ष्य समेत राखेको छ । फेस्टिभलमा साङ्गीतिक सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ जसमा विभिन्न कलाकारहरूले नेपाली तथा बहु सांस्कृतिक सङ्गीत, गीत र नृत्य प्रस्तुत गर्नेछन् ।
Discussion about this post