खाडी क्षेत्रका ६ मुलुकले नेटफ्लिक्सले इस्लामिक मुल्य विपरितका सामाग्री नहटाए यसविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । साउदी अरबका सरकारी मिडियाले नेटफ्लिक्सका शोहरुमा प्रस्तुत हुने यौनिक अल्पसंख्यकको यौन कृत्यप्रति आपति रहेको संकेत गरेका हुन् ।
साउदी अरबका मिडिया नियामक संस्था र गल्फ कोअपरेसन काउन्सिल(जीसीसी)का ६ सदस्यले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा ‘इस्लामिक तथा सामाजिक मुल्य विपरित’का सामाग्रीप्रति आपति जनाइएको छ । तथापि वक्तव्यमा कस्ता सामाग्रीहरु इस्लामिक तथा समाजिक मुल्य विपरित रहेको उल्लेख गरेको छैन । ‘नेटफ्लिक्सलाई सम्पर्क गरेर त्यस्ता सामाग्री हटाउन भनिएको छ…उसले हाम्रो निर्देशन पालन गरे नगरेको अनुगमन गरिनेछ र यदी निर्देशन अवज्ञा गरेको पाइएमा कानुनी कारबाही चालिनेछ ,’ वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा बहराइन, कुवेत, ओमन, कतार, साउदी अरब र युएईको हस्ताक्षर छ । जीसीसीको वक्तव्यले इस्लामिक मुल्यविरुद्धका सामाग्री स्पष्ट नगरेको भए पनि साउदी सरकारी टीभी अल–एख्बरियाले ‘समलैंगिकतालाई प्रवद्र्धन गर्ने बालबालिका लक्षित फिल्म तथा सिरिजहरु’को आलोचना गरेको थियो । खाडी मुलुकहरुले यसअघि पनि अमेरिकी फिल्म वितरकसँग तिनका फिल्मका सामग्रीलाई लिएर भिड्ने गरेको उदाहरण भेटिन्छ ।
खाडी क्षेत्रका सबैभन्दा उदार मानिने युएईले समेत यो वर्ष प्रदर्शनमा आएको कार्टुन फिल्म लाईटईअर प्रदर्शन रोकेको थियो । फिल्ममा दुई महिला पात्रको चुम्बनको दृश्य रहेको छ । अधिकांश खाडी मुलुकमा समलैंगिक सम्बन्धलाई अपराधिक क्रियाकलाप मानिएको छ ।
Discussion about this post