काठमाडौं- जापानमा विद्यार्थीलाई बाँधेर राखेको भन्दै यहाँको सरकारले यहाँस्थित एक भाषा विद्यालय बन्द गराउने निर्णय गरेको छ।जापानको फुकुओका सहरमा रहेको निसिनिहोन इन्टरनेसनल एजुकेसन एकेडेमी जापानी भाषा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई साङ्लाले बाँधेर गैरकानुनी काम गरेको भन्दै सरकारले उक्त विद्यालयको सम्बधन रद्द गरेको एनएचकेले जनाएको छ।
फुकुओकाको ठूलो र पुरानोमध्येको एक उक्त विद्यालयमा गत वर्ष अक्टोबरमा विद्यालयका कर्मचारीले २० वर्षका भियतनामी पुरुष विद्यार्थीलाई आफ्नो पेन्टको बेल्ट तथा फलामको साङ्लाले बाँधी थुनेर राखेको एवं भोलिपल्ट अन्य कर्मचारीहरूको निगरानीमा त्यसैगरी थुनेर राख्ने लगायतका मानव अधिकार उल्लंघन गरेको पुष्टि भएका कारण विद्यालय बन्द गर्ने निर्णय गर्न परेको जनाइएको छ।अहिले उक्त विद्यालयमा कम्तीमा ५ सय नेपाली विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ।
प्राप्त जानकारीअनुसार विद्यालय बन्द गर्ने निर्णयले सो विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने जनाइएको छ।यसैबीच टोकियोस्थित नेपाली दूतवाससले सो विद्यालयको समाचार सुनेको र विद्यार्थीबारे आवश्यक कदम चालिने जनाएको छ।
सम्बन्धित विद्यालयले भने यस विषयमा कुनै जानकारी दिएको छैन।स्रोतका अनुसार केही महिनापछि अन्य भाषा विद्यालयमा विद्यार्थीलाई सार्न समय दिन सकिने बताइए पनि विद्यालयले के कस्तो निर्णय गर्छ र अप्ठ्यारोमा परेका विद्यार्थीका लागि कसरी सहज वातावरण बनाउँछ, त्यो महत्त्वपूर्ण हुने बताइएको छ।
Discussion about this post