चितवन-चितवनको कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपि) र उनका स्वकिय सचिव (पिए) दिपक लामिछाने विरुद्ध पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनिहरु विरुद्ध २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं. सी ००७१२८ मा उजुरी दर्ता भएको आयोग श्रोतले जनाएको छ ।
मेयर श्रेष्ठ र उनका पिए लामिछानेले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लगाइएको छ । यस अगाडी पनि पिए लामिछाने विरुद्ध अकुत सम्पती कमाएको आरोपमा उजुरी परेको थियो । मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्त गरी नगर भित्रका हरेक विकास निर्माण र खरिद कार्यमा सेटिङ गर्ने जिम्मा दिने गरेको आरोप लगाइएको छ । श्रेष्ठ र लामिछाने विरुद्ध परेको ३ पाना लामो ३० बुद्धे उजुरीमा उनिहरुले भ्रष्टाचार गरेको भन्दै विभिन्न दाबी गरिएको छ ।
लामिछाने अहिले पनि नगरपालिकामा सोही पदमा कार्यरत रहेका छन् । यस अघि पनि उनलाई सरकारी पल्सर मोटरसाइकलको प्राइभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको लगायतका कारण देखाउँदे अख्तियारमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो ।
निवर्तमान मेयर श्रेष्ठ नेकपा (एमाले) का बागमती प्रदेश कमिटी सदस्य हुन भने उनका तत्कालीन पिए लामिछाने नेकपा (एमाले) कालिका नगर कमिटी उपाध्यक्ष हुन ।
Discussion about this post