चितवन – चितवन प्रहरीले मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका ४ का दीलिप श्रेष्ठ रहेका छन् । श्रेष्ठले मोबाइल चोरी मुद्दामा चितवन प्रहरीबाट पक्राउ परेका रौतहट गरूडा नगरपालिका ५ का २८ वर्षीय रुप नारायण साह सोनारको भाई सुखारी साह सोनारसँग २० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
रुप नारायण साउन ६ गते मोबाइल चोरी मुद्दामा पक्राउ परेका थिए । चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा उनलाई तत्काल छुटाईदिन्छु भनी भाईसँग आईएमईमार्फत २० हजार लिएर सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ परेका रुप नारायण ३० गते हिजो (सोमबार) चितवन जिल्ला अदालतको आदेशले ३० हजार रुपैयाँ धरौटी राखी तारिखमा छुटेका थिए । उनी छुटेपछि भाई सुखारीले आफु ठगीएको भनी श्रेष्ठविरुद्ध ठगी सम्बन्धी कसुरमा आज (मंगलबार) किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीपछि उनलाई आज नै पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post