चितवन – वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन्। २०७३ सालमा १५ अर्ना र २०७४ सालमा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएका थिए। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। सोमबार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्नाविहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए।
निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान गरेको छ। यसअघि पनि एउटा अर्नालाई बाघ पसेर खाएको थियो। तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन्। ती अर्नामध्ये चार वटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीका कारण मरेका थिए।
संरक्षण अधिकृत आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए। आर्थिक वर्ष २०७८/७९ को पाँच महीनाको अवधिमा १० अर्ना मरेका थिए। साउनदेखि मंसीर मसान्तसम्म ती अर्ना मरेका हुन्। ६ भाले र चार पोथी अर्ना मरेका थिए। बाँकी तीन पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ।
यस्तै‚ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २०७४ सालमा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गेलाई स्थानान्तरण गरी चितवन ल्याइएको थियो। तीमध्ये दुई पोथी ल्याउने बित्तिकै र अन्य चार विभिन्न कारणले मरिसकेका छन्। अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो। सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ।
तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भाले सहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो। यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्याउने काम रोकिएको थियो।
निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुला खोर (इन्क्लोजर) निर्माण गरेर कोशी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो। चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि २०७३ माघमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए। अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो। २०७४ सालमा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए।
अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ। त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए। निकुञ्ज स्थापना हुनुभन्दा करीब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन्। निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरूले कारण मान्दै आएका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो। कोशी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउँछन्।
२०७१ सालमा नै सरकारले पाँच भाले सहित २० अर्ना निकुञ्जमा ल्याउने निर्णय गरेको थियो। यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो। अर्नाको सरदर आयु २५ वर्ष हुन्छ। यिनीहरूले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन्। भाले अर्ना तीन/चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ। यसको गर्भधारण अवधि १० देखि ११ महीनाको हुने गर्दछ। –रासस
Discussion about this post