Nirvik Khabar

नारायणगढको शहिदचोक–धर्मचोक–कचपचे सडक निर्माणः कामदारले पैसा पाएनन्,ठेकदार कम्पनीले काम गरेन

प्रतिमा कुमाल

चितवन- रायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण चार वर्ष पूरा हुदा पनि सकिएको छैन । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साउन १६गते जादा पनि निर्माण पूरा हुन नसकेको हो ।

निर्माणमा खटिएका सरोकारवालाहरु एकले अर्काेलाई दोष दिइरहेका छन् । कामदार र सम्बन्धित ठेकेदारले समयमा कामको भुक्तानी पाएका छैनन् । पारामाउन्ट विल्डर्स बानेश्वर काठमाडौँलाई शिवशक्तिले नालीको स्टक्चरको काम दिएको थियो । तर, सात महिनादेखि पैसा नदिएको पारामाउन्टका प्रबन्ध निर्देशक सबिन केसीले  बताए ।

पारामाउन्टले एक करोड २० लाखसम्मको काम गरेको छ । काम गरेको लक्ष्मी माविदेखि बैकुन्ठ चोकसम्म करिब दुई किलोमिटर नालाको काम यसले गरेको थियो । काम गरे अनुसार ४५ लाख रुपैयाँ अझै पाउन नसकेको केसी बताउँछन् । ठेक्का तोडेर धर्म चोकमै कोठा भाडामा लिई केसी कामको पैसा पाइहालिन्छ की भनेर प्रतिक्षामा छन् ।

लामो समयसम्म ठेकेदारले पैसा नदिँदा ढुङ्गा, गिटी, बालुवा, कामदारलाई रकम बुझाउन नसके पछि काम छोडेको उनको भनाइ छ । उनले भने, ‘भने जस्तो क्वान्टिटी दिँदैन, पैसा झुलाइदिँदा घाटामा गइयो । श्रमिकलाई पेमेन्ट गर्न सकिएन, काम गर्न पनि सकेनौं ।’

यसबाटो निमार्णको क्रममा चार जना इञ्जिनियर फेरिसकेको जेभीले पैसा माग्दा फोन नउठाउने, पूरानै इञ्जिनियर चाहिने भन्ने गरेको उनको गुनासो छ । इञ्जिनियरसँग आफूले सम्झौता नगरेकाले ठेकेदारले बहाना बनाई झुलाउने काम गरिरहेको उनको जीकिर छ । यस्तै भरतपुर महानगरपालिका–४ धर्मचोककी स्थानीय विष्णु केसीले रासनको पैसा पाएकी छैनन् । बाटो बनाउने क्रममा ३५ जनालाई उनले रासन प्रदान गेरेकी थिइन् । जसकोे करिब ६० हजार लिन बाँकी रहेको केसीको भनाइ छ । चार वर्षसम्म बाटो पनि पूर्ण नहुनु र रासनको पैसा पनि नपाउनाले आजित बनाएको बताए । फोन गरे कुरा भोलिवादमै सकिने गरेको उनको भनाइ छ ।

होटल व्यवसायी भुवन बजगाइँले पनि एक लाखभन्दा बढी रकम लिन बाँकी छ । कामदारलाई खाना, खाजा खुवाएका उनले २०७८ कात्तिकबाट पैसा नपाएको बताए । भाडामा होटल सञ्चालन गर्दै आएका बजगाइँले समयमा पैसा नदिँदा घरभाडा तिर्न, बच्चाहरुको विद्यालयको फिस तिर्न, उदारो लिएको ठाउँमा रासनको पैसा बुझाउन नपाएको गुनासो गरे ।

कामदारलाई डेरा दिएका स्थानीय बसन्त सापकोटाले पनि ६० हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी छ । निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले भने बद्नाम गर्ने काम भएको आरोप लगाएका छन् । भ्रामक कुरा गर्नभन्दा कागजातसहित आउन उनले आग्रह गरेका छन् । उनले भने, ‘ठेकेदार कम्पनीको नाम बद्नाम गराइयो, प्रहरीमा समेत यस विषयमा केस परेको थियो । बोलाउदा सम्पर्कमा आउँदैनन् । काकजसहित आउनुप¥यो भ्रमित पार्न भएन । सबै गरेर शिवशक्तिले तिर्न करिब ढेड लाख जति रहेको उनको भनाइ छ ।

करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । १० मिटर चौडाइको यस बाटो निमार्णको लागि सडकको दुवै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । अब बैकुण्ठ चोकदेखि धर्मचोकसम्म ५०० मिटर बाटो बन्न बाँकी रहेको छ । भदौंसम्म काम सम्पन्न हुने ठाकुरले बताए । अहिले नालीको काम हँुदै छ । तीन दिनदेखि निरन्तर पानी परिरहेकाले काम अहिले भने रोकिएको छ ।

निर्माण आयोजनाका लेखाअधिकृत होमनाथ पौडेलले सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको जानकारी दिए । जसकालागि सरकारले ९९ करोड, ९७ लाख, चार हजार ९०९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठ चोक, धर्मचोक र कचपचे चोकसम्मको बाटोका लागि भने मूल्य समायोजनसहित ४९ करोड ४३ लाख ३३ हजार ९९ रुपैयाँ भुक्तानी गरेको पौडेलले जानकारी दिए । ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको छ ।नारायणी अनलाइन

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस