Nirvik Khabar

चितवनका अधिकांश स्थानीय तहका उम्मेदवारले डेढ महिनासम्म पनि बुझाएनन् चुनावी खर्च विवरण

चितवन- चितवनका स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् ।चितवनमा रहेका सात स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका मध्ये जम्मा ३२८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी ओमप्रसाद ओझाले नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । तर, चितवनमा डेढ महिना बित्दासम्म धेरै कमको मात्र विवरण आएको छ ।’ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्लामा विभिन्न सात स्थानीय तहमा झण्डै एक हजार बढी विभिन्न पदमा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा भरतपुर महानगरपालिकाबाट १०८ जनाले, खैरहनी नगरपालिकाबाट तीन जना, रत्ननगर नगरपालिबाट १० जना, कालिका नगरपालिकाबाट ६३ जना, राप्ती नगरपालिबाट १५ जना र इच्छाकामना गाउँपालिकाबाट चार जना र माडी नगरपालिबाट सबैभन्दा धेरै १२५ जना उम्मेदवारले खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरेको थियो । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो । उपमहानगरका मेयर र उपमेयरले बढीमा पाँच लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने प्रावधान थियो भने नगरपालिकाका मेयर र उपमेयरले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार रुपैयाँ निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको थियो ।

महानगरका वडाध्यक्ष र सदस्यले तीन लाख ५० हजार रुपैयाँ, उपमहानगरका वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने व्यवस्था गरिएको थियो  । नगरपालिकाका वडाध्यक्ष र सदस्यले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आचारसंहिता आयोगले जारी गरेको थियो । निर्वाचनलाई पारदर्शी र मितव्ययी बनाउन यो रकम प्रस्ताव गरिएको भए पनि दलहरुले यो विवरण पेस गर्न भने चितवनमा वास्ता गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस