चितवन — नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक नाम्सी पुलमा पहिरो गएपछि यातायात एकतर्फी रुपमा मात्रै सञ्चालन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ मा पर्ने नाम्सी पुलमा सोमबार राति पौने एक बजेतिर पहिरो झरेको थियो । पहिरोका कारण रातभरत बाटो ठम्म थियो । अहिले बिहान पहिरो हटाए पनि एक तर्फी रुपमा मात्रै गाडी चलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नारायणगढ मुग्लिन सडकको पहिरो ग्रस्त क्षेत्र कालिखोला टोपेखोला आडमा पर्ने नम्सीमा यो हप्ता निरञ्तर जसो पहिरो खसेको छ । नाम्सीमा नयाँ पुल बनाउन डाँडो काटेपछि पहिरो गएको हो । यहाँ बिहीबार बिहान सबेरै पहिरो गएको थियो । शुक्रबार रातिबाट मात्रै यो ठाउँबाट दोहरो गाडी चल्न थालेका हुन् । शनिबार, आइतबार र सोमबार दिनभर राम्रैसँग गाडी चले पनि रातिबाट अवरोध उत्पन्न भएको छ ।
नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम चार वर्षअघि सकिएको थियो । तर पहाड काटेको ठाउँमा पटक पटक पहिरो खसेर घण्टौं बाटो अवरुद्ध हुने समस्याले हरेक वर्षायाममा पिरोल्दै आएको छ ।
Discussion about this post