१९ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका टिम प्रथम भएको छ ।पूर्वी चितवनको रत्ननगर नगरपालिका ८ बाघमारा दुई दिन चलेको प्रतियोगितामा १७ स्वर्ण पदक हात पार्दै भरतपुर टिम प्रथम भएको हो । यस्तै भरतपुरले १६ रजतर २१ कांस्य पदक जितेको छ ।
१४ स्वर्ण जितेको माडी नगरपालिका दोस्रो भएको छ । माडीले १४ स्वर्णसहित ५ रजत र ६ कांस्य जितेको छ । रत्ननगर १० स्वर्णसहित तेस्रो भएको छ । उसले १० स्वर्ण, ११ रजत र ३० कांस्य पदक हात पारेको छ ।उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी सुवास भट्टलगायतले पुरस्कार वितरण गरे ।
सो क्रममा बोल्दै सदस्य सचिव लामाले चितवनलाई खेलकुद नगरीको रुपमा अघि बढाउन सकिने बताए । यसका लागि परिषद्ले योजना बनाइरहेको पनि उनको भनाइ थियो । समितिका अध्यक्ष कार्कीले सहभागी चारै पालिकालाई धन्यवाद दिए । यस्तै सहभागी नभएका तथा छनौट प्रतियोगिता नै नगरेका राप्ती र कालिका नगरपालिका तथा ईच्छाकामना गाउँपालिकालाई खेलाडीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे ।खेलाडीलाई खेल्नबाट नै बञ्चित गर्न नहुने उनको भनाइ थियो । प्रतियोगितामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिकाका करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

































Discussion about this post